इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

  ०७३ असार २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गत आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालित विभिन्न कार्यक्रमहरूमाथि वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । 

मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा असार २९ गते सो समीक्षा बैठक सम्पन्न भएको हो ।

 

बैठकमा बोल्दै क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले नागरिकसँग प्रत्यक्ष जोडिएको आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि इन्सेकले राम्रो कामको थालनी गरेको भन्दै अगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडी बढ्नुपर्ने बताए ।

 

उनले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति बिना जनताका अन्य अधिकारहरूको विषयसमेत अपुरो र ओझेलमा पर्ने उल्लेख गर्दै नागरिकको समस्याप्रति गम्भीर बन्न सरोकारवाला निकायलाई जिम्मेवार बनाइनुपर्ने बताए ।

 

समीक्षा बैठकमा बोल्दै इन्सेक केन्द्रीय कार्यालय मानव अधिकार शिक्षा कार्यक्रमकी प्रमुख गीता गौतमले'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमले जिम्मेवार निकायका अधिकारीहरूलाई जवाफदेही बनाउनका लागि सफल भएको बताइन् ।

 

उनले कार्यक्रम सफल पार्नका लागि कटिबद्ध भएर निरन्तर प्रयासरत विभिन्न जिल्लाका सहजकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सुदृढ, प्रभावकारी र कार्यक्रमको व्यापकतालाई समेट्दै उपलब्धिमुलक तरिकाले कार्यक्रमलाई अघि बढाइने बताइन् ।

 

कार्यक्रममा बोल्दै इन्सेक केन्द्रीय कार्यालयकी सम्झा श्रेष्ठले सञ्चालित कार्यक्रमहरूले नागरिकका समस्याहरूलाई जवाफदेही निकायमाझ पुर्याउने, ध्यानाकर्षण गराउने र उनीहरूलाई थप जिम्मेवार बनाउँदै त्यसको समाधानका निमित्त बाटो देखाउने कार्यमा योगदान पुर्याएको बताइन् ।

 

कार्यक्रममा मकवानपुर, ललितपुर र काभ्रे जिल्लामा कार्यरत सहजकर्ताहरूले वर्षभरी गरिएको कामको प्रभाव, उपलब्धी र सिकाईबारे प्रस्तुति दिँदै अगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि निमित्त सुझावसमेत दिएका थिए ।

 

Photo20160713Ktm