इन्सेकद्वारा रुकुम पश्चिमको मानव अधिकार अवस्था अनुगमन

  ०७५ जेठ १७ गते 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यालय नेपालगञ्जको टोलीले जेठ १७ गते रुकुम पश्चिम जिल्लाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरेको छ ।

photo201861rukum (2)`

इन्सेक कार्यालय नेपालगञ्जका प्रमुख भोला महत, प्रलेख अधिकृत नारायण सुवेदी र रुकुम जिल्ला प्रतिनिधि मनिषा केसीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिहरूसँग भेटघाट गरी जिल्लाको मानव अधिकारको अवस्थाबारे जानकारी लिएका थिए ।

photo201861rukum (1)

भेटघाटको क्रममा पछिल्लो समयमा महिला हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाह, बालबालिकाको ओसारपसार लगायतका घटना बढ्दै गएको पाईएको छ ।

भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले इन्सेकको मानव अधिकार वर्ष पुस्तकले समग्र मानव अधिकारको अवस्था प्रष्ट पारेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जिल्लाको मानव अधिकारको स्थिति सामान्य नभएपछि सुधारोन्मुख रहेको भन्दै यसलाई अझै सुधार गर्न मानव अधिकारकर्मीहरूसँगको सहाकार्य आवश्यक रहेको बताए ।

photo201861rukum (3)

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर ऋषि ढुङ्गानाले वैदेशिक रोजगारीले गर्दा पारिवारिक विखण्डन र हिंसा बढेको, बालविवाहका कारणले बहुविवाह, सम्बन्धविच्छेद, घरेलु हिंसा र बलात्कारलगायतका घटना पनि बढ्दै आएको बताए ।

photo201861rukum (4)

यसैगरी महिला तथा बालबालिका कार्यालय रुकुमका सहायक महिला विकास निरीक्षक कमला मल्लले महिला हिंसाका घटना समाधान गर्ने जिम्मेवारी स्थानीय तहका न्यायिक समितिमा गएपनि न्यायिक समितिमा दक्ष जनशक्ति नभएको र उनीहरूप्रति विश्वास नगरेर अहिलेसम्म पनि त्यस्ता घटना महिला तथा बालबालिका कार्यालयमा नै आउने गरेको बताइन् ।

बाल अधिकार अधिकृत मानविर ओलीले जिल्लामा ५७ प्रतिशत बालविवाह हुने गरेकोले यसलाई समाधान गर्न चुनौतिपूर्ण रहेको बताए ।

प्रहरीको सक्रियतामा पछिल्लो ४ महिनामा २२ वटा बालविवाह रोकिएको र यो अभियानलाई निरन्तरता दिनका लागि प्रहरीको सहयोग आवश्यक रहेको उनको भनाई छ ।

जिल्लाको समग्र मानव अधिकारको अवस्था बुझ्न र मानव अधिकार वर्ष पुस्तकलाई अझ परिस्कृत बनाउन सल्लाह सुझाव लिनका लागि यो अनुगमन गरिएको इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले बताए ।

मनिषा केसी