इन्सेकद्वारा क्वारेण्टाइन अनुगमन, मापदण्ड अनुसार क्वारेण्टाइन व्यवस्थापन नभएको गनुासो

  ०७७ असार २६ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार २६ गते गोदावरी नगरपालिका–९ बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय र गौरीगंगा नगरपालिका–६ बनबेहडास्थित अमर माध्यामिक  विद्यालयमा रहेको क्वारेण्टाइन अनुगमन गरेको छ ।

अनुगमनको क्रममा श्री राष्ट्रिय माध्यामिक विद्यालयको तयार गरिएको क्वारेण्टाइनमा बसेकाहरुले आफूहरुलाई सरकारले जारी गरेको क्वारेण्टाइन व्यवस्थापन मापदण्ड अनुसार नराखिएको र आफूहरुको स्वास्थ्य परीक्षणसमेत नगरिएको गुनासो गरेका छन् ।

गोदावरी नगरपालिका–९ बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेण्टाइनमा बस्दै आएकी ३८ वर्षीया माया नेपालीले क्वारेण्टाइनमा बसेको ६३ दिन भइसक्दा समेत आफ्नो आरडीटी परीक्षण नगरिएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘ क्वारेण्टाइनमा पानी, खाना, बत्ति केही पनि छैन् । महिनावारी भएको बेला नुहाउन, लुगा धुन समस्या रहेको छ । दुई महिना बित्दा पनि न स्वास्थ्य परीक्षण गरेको छ न घर पठाएको छ । जनप्रतिनिधिहरुले पनि चासो दिनु भएको छैन् ।’

गोदावरी नगरपालिका–९ बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेण्टाइनमा बस्दै आएका २७ वर्षीय अजय बिकले आरडी्टी पोजेटिभ आएको १८ दिन हुँदा पनि पीसीआर परीक्षण नगरिएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘मनमा तनाव छ । कोरोना पोजेटिभ छ की ? नेगेटिभ केही थाँहा   छैन ।’

श्री राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेण्टाइनमा बस्दै आएका ३२ वर्षीय जयभान कामीले झुल र म्याट बाहेक आफूहरुलाई कुनै पनि सुविधाहरु नदिइएको र  जनप्रतिनिधिहरु नै क्वारेण्टाइनमा नआएको दुखेसो इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

स्थानीय समाज सेवी ५९ वर्षीय डवलबहादुर सुनारले क्वोण्टाइनको व्यवस्थापनमा स्थानीय सरकारको कुनै सहयोग नगरेको र चामल, दाल, तरकारी, नुन, तेललगायतका आवश्यक सामग्रीहरु गाँउबाट सङ्कलन गरी सहयोग गरिएको बताउनु भयो ।  उहाँले भन्नु भयो–‘क्वारेण्टाइनमा रहेकाहरुलाई हालसम्म कसैले पनि स्वास्थ्य सामग्री सहयोग र हस्तान्तरण गरेका छैनन् ।’

गोदावरी नगरपालिका–९ का वडाध्यक्ष लहानु चौधरीले अहिले नगरसभा र आर्थिक वर्षको अन्तिम क्लोजिङग भएका कारण क्वारेण्टाइनमा समय दिन नसकेको स्विकार गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘एक हप्ता अगाडी ६०÷७० जना क्वारेण्टाइनमा रहनु भएको थियो । त्यसैले व्यवस्थापनमा र खानामा समस्या थियो । उहाँहरुले हामी घरको खाना खान्छौँ भने पछि त्यसै गर्न भनियो । सरकारको मापडण्ड अनुसार क्वारेण्टाइन व्यवस्थापन गर्न सकिएको छैन । कोरेना परीक्षणमा पनि ढिलाइ भएको छ ।’

गोदावरी नगरपालिका–९बल्मीस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेण्टाइनमा अहिले चार जना महिला, सात जना बालबालिका र ६ जना पुरुष गरी १९ जना रहेका छन् ।

photo20200710kailali (1)

photo20200710kailali (2)

मैनामोती चौधरी