इन्सेकको गतिविधि मानव अधिकारमुखि छन् : उपप्रमुख पाठक

  ०७६ माघ २७ गते

कालिञ्चोक गाँउपालिकाकी उपप्रमुख कालिका पाठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का हरेक गतिविधि अधिकारमुखि अवधारणाबाट आएको बताउनुभएको छ ।

नागरिकलाई आफ्नो अधिकार दावि गर्न प्रेरित गर्ने इन्सेकको गतिनिधिमा आफ्नो सधैं सहयोग रहेने उहाँले बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा माघ २५ गते दोलखाको कालिञ्चोक गाउँपालिकामा भएको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

Dolakha

कार्यक्रममा उहाँले स्थानीय सरकारले आ–आफ्नो कार्य जिम्मेवारीपूर्वक पालना नगरेमा इन्सेकले गठन गरेको मानव अधिकार समुहले खवरदारी गर्नुपर्ने बताउनुभयो । समुहले सेवाप्रवाह गर्ने निकायलाई थप जिम्मेवार बन्न सक्ने र सेवाग्राहीले माग दावी गर्ने आशा व्यक्त गर्नुभयो ।

इन्सेकको आयोजनामा मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभगिता अभिवृद्धि कार्यक्रमको अभिमुखिकरण तथा नगरपालिका स्तरिय मानव अधिकार समुह गठन कार्य पनि भएको छ । कालिञ्चोक गाँउपालिकाको उपप्रमुख कालिका पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाँउपलिकाका वडा अध्यक्षहरू, शिक्षा, स्वास्थ्य र कृषि शाखाका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज, विद्यालय व्यवस्थापन समिति, स्थानीय बाल अधिकार चेतना समुह, गैह्रसरकारी संस्थालगायतको प्रतिनिधिहरूको उपस्थिती थियो ।

कार्यक्रममा इन्सेक इएलपी परियोजना सहजकर्ता सुशिला प्रसाईले इन्सेकको परिचय मानव अधिकार समूह निर्माणको औचित्यबारे बताउनुभएको थियो ।

कार्यक्रमले जीतबहादुर तमाङको अध्यक्षतामा १३ सदस्यिय कालिञ्चोक गाउँपालिका स्तरिय मानव अधिकार समुह गठन गरेको छ । कार्यक्रममा नवगठित समुहका अध्यक्ष जीतबहादुर तामाङले गाँउपालिकामा नागरिकलाई अधिकार तथा कर्तव्य बोध गराउने समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उद्धव पोखरेल