आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

  ०७७ माघ २६ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २६ गते वीरेन्द्रनगरमा आयोजना गरेको आवासको अधिकार कार्यान्वयनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरूले वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई मात्र आवासको व्यवस्थापन गरिनु पर्ने चर्चा गर्दै नक्कली भूमिहीनहरूको कारण सक्कली भूमिहीनहरूको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका थिए ।

राजनीतिक नियुक्तिको आधारमा नियुक्त हुने सुकुम्वासी आयोगले आफ्ना कार्यकर्ताहरूको आवासको अधिकार तर्फ अग्रसर हुने हुँदा वास्तविक भूमिहीनहरूको आवासको अधिकार खोसिएको सहभागीहरूको भनाइ थियो ।

20210208 Surkhet 2

बाढी पीडित मैसरा गुरुङ्गले वीरेन्द्रनगर–८ स्थित महिला प्रशिक्षण केन्द्रको पालभित्र कष्टपुर्ण जीवन बिताइरहेको ६ वर्ष बितिसक्दा समेत राज्यले बाढीपीडितहरूको उचित व्यवस्थापन गर्न नसकेको बताउनु भयो ।

भेरी नदी र झुप्रा खोला किनारामा बस्दै आएका बादी, गन्धर्व, राजी र अन्य दलित समुदायलाई सुकुम्वासी आयोग लगायतका आयोगहरूमा समावेश गर्नुपर्ने उनीहरूको माग थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाढीपीडित र भूमिहीनहरूको आवासको अधिकार सुनिश्चित गर्ने तथा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने बताउनु भयो । भूमिहीन र बाढीपीडितहरूको आवासको अधिकार सुनिश्चित नभएसम्म मुलुकमा दिगो शान्ति कायम हुन नसक्ने हुँदा यसतर्फ सबै पक्ष सचेत हुनुपर्ने उल्लेख गर्नु भयो ।

धार्मिक, अल्पसंख्यक मुश्लिम, बादी, गन्धर्व, थारू समुदाय, बाढीपीडित, भूमिहीन, नागरिक संस्थाका प्रतिनिधी र सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नपा–११ का अध्यक्ष नन्दलाल शर्मा, वीरेन्द्रनगर नपाका सामाजिक विकास अधिकृत टंक लामिछाने, इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरी र राष्ट्रिय भूमि अधिकार मञ्च कर्णाली प्रदेशका संयोजक राजेन्द्र शर्मा लगायतले भनाइ राख्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण इन्सेक सुर्खेतका सहजकर्ता विन्दुलाल रेग्मीले गर्नु भएको थियो ।

20210208 Surkhet 1

दुर्गा थापा