आर्थिक, सामाजिक तथा सा‌स्कृतिक अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिवद्धता

  ०७६ कात्तिक १९ गते

आर्थिक, सामाजिक तथा सा‌स्कृतिक अधिकारका साथै आवासको अधिकारको प्रत्याभूति हुनेगरी काम गर्ने जनप्रतिनिधिहरूले प्रतिवद्धता जनाएका छन् ।

तुलसीपुर नगरपालिकामा कात्तिक १९ गते इन्सेकद्वारा सञ्चालित परियोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै  जनप्रतिनिधिहरूले उक्त कुरा बताएका हुन् ।

तुलसीपुर नगरपालिकाकी उपमेयर माया अचार्यले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै स्थानीय तह र नागरिक अधिकारका बारेमा इन्सेकले खबरदारीसहित समन्वयात्मक सहयोग गर्नु पर्ने बताइन् ।

उनले घरमा हुने सुत्केरी दर शुन्यमा झार्ने काम गरेको उल्लेख गर्दै नागरिक अधिकारका विषयमा उपमहानगरपालिकाले गम्भीर भएर काम गरिरहेको बताइन् ।

त्यसैगरी घोराही नगरपालिकामा कात्तिक १८ गते आयोजित कार्यक्रममा नगरपालिकाकी उपमेयर सिता सिग्देल न्यौपानेले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका साथै आवासको अधिकारको प्रत्याभूति हुनेगरी काम गरिरहेको बताइन् ।

उनले  शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार नागरिकसम्म पुर्‍याउनकै लागि स्थानीय सरकार क्रियाशील रहेको भन्दै इन्सेक र मानव अधिकार समूहले सहजीकरणको भूमिका निभाउनुपर्नेमा जोड दिइन् ।

घोराही उपमहानगरपालिकामा लौटन चौधरीको अध्यक्षतामा १३ सदस्यीय र तुलसीपुर उपमहानगरपालिकामा दोलक खत्रीको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार समूह गठन गरिएको जिल्ला सहजकर्ता विनोद केसीले बताए ।

photo20191106dang

जे.एन.सागर