आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोडदिनु पर्नेमा एकमत

  ०७३ मङ्सिर २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा मङ्सिर २५ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागीहरू वर्तमान अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोड दिनु पर्नेमा एकमत भएका छन् ।

photo20161210sindhupalchok

चौतारामा आयोजित समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष युवराज पुरीले अहिलेको बदलिँदो अवस्थामा मानव अधिकारकर्मीहरूले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा जोड दिनु पर्ने र जिल्लामा सङ्ख्यात्मक हिसावले मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएपनि गाउँ बस्तीमा भएका मानव अधिकारसँग सम्बन्धित घटनाहरू उजागर हुन नसकेको बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम अधिकारीले वर्तमान समयमा दण्डहीनताले प्रश्रय पाएको हुँदा मानव अधिकारकर्मीहरूले उक्त कुरा उजागर गर्नुपर्ने बताए ।

photo20161210sindhupalchok1

जिल्ला विकास समितिका योजना अधिकृत राजेन्द्रप्रसाद नेपालले मानव अधिकार उल्लङ्घनको न्यूनीकरण गर्न सबै पक्षको सक्रिय सहभागिता हुनुपर्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालले अघिल्लो वर्ष र यो वर्षको मानव अधिकारका घटनाहरू तुलना गरेपछि मात्र मानव अधिकारका घटनामा न्यूनीकरण भए नभएको बुझ्न सकिने बताए ।

कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले सन् २०१६ भरी सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरेका थिए ।

नातिबावु धिताल