आर्थिक अनुशासन र नीतिगत सुधार गर्छौंः जनप्रतिनिधि

  ०७६ कात्तिक २८ गते

आर्थिक अनुशासन र नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्ने जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला पैरवी सञ्जाल, सोच नेपाल र इन्सेकको आयोजनामा भएको आर्थिक सुशासन र मानसिक स्वास्थ्यमा हाम्रो भूमिका विषयक साझा सभामा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सङ्घीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले नीतिगत र आचरण सुधार गरे सुशासन कायम हुने बताए ।

उनले स्थानीय सरकार नागरिकको घरदैलोको सकार भएकाले ससाना समस्या समाधान गर्न कानुन अभाव भएको भनेर पन्छन नहुने भन्दै कानुनी जटिलता भए संसदबाट सुधार गर्न पहल गर्ने बताए ।

कानुनी अज्ञानताले मानव अधिकार हनन् र अपराधका घटना बढेकाले सचेतना आवश्यक रहेको उनले औँल्याए ।

सांसद तथा प्रदेश सभा १ का अर्थ समितिका सभापति मोहनकुमार खड्काले प्रदेश सरकारले विद्यालय र शिक्षक परिचालन गरेर मनोसामाजिक परामर्श दिने र प्रदेशैभर मानवमुक्त सडक बनाउने अभियान चलाएको बताए ।

यो अभियानमा मानसिक समस्याका कारण सडकमा आएका मानिसको उपचार तथा व्यवस्थापन गरिने जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले सबै पक्षले समन्वय गरेर काम गर्नु पर्ने बताए । उनले सबै मिलेर आर्थिक अनुशासन र सुशासन कायम गर्न सकिने बताए ।

सिद्धिचरण नगरपालिकाका मेयर मोहकुमार श्रेष्ठले नागरिकलाई सबै खाले स्वास्थ्योपचारको सुनिश्चित गर्न स्वास्थ्य विमा गराउन नगरपालिकाले काम थालेको बताए । उनले स्वास्थ्य नीतिमै मानसिक रोगको औषधि निःशुल्क हुने गरी परिमार्जन हुनुपर्नेमा जोड दिए ।

चिसङ्खुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले स्थानीय तहमा देखिएको अनियमित खर्च र बेरुजु शून्य बनाउने अभियानमा आपूm जुटेको बताए ।

आर्थिक सुशासनको सूचक बेरुजुको अङ्क समेत रहेकाले यसमा गाउँपालिका सचेत रहेको उनको भनाइ छ ।

मानसिक स्वास्थ्यको समस्याले उपचार गरिरहेका आफ्ना गाउँपालिकाका ४२ जना बिरामीलाई गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराएको जानकारी दिए ।

गाउँपालिकाले जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरेर गम्भीर रोगका बिरामीको उपचारमा कार्यविधि बनाएरै अनुदान दिने व्यवस्था गरिएको जनाए ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले गाउँपालिकामा आन्तरिक लेखा परीक्षण शाखा नै स्थापना गरेर आर्थिक सुशासनको काम थालिएको बताए ।

उनले नागरिकको स्वास्थ्यमा गम्भीर भएकाले नै स्वास्थ्य संस्था ५ बजेसम्म सञ्चालन गर्ने र पर्याप्त मात्रामा औषधि उपलब्ध गराउने गरेको दावी गरे ।

नागरिक समाजका अगुवा पेमडोमा शेर्पाले मानसिक स्वास्थ्य र लैङ्गिकमैत्री नीति निर्माण गर्नुपर्ने बताइन् ।

सहभागी जनप्रतिनिधि र सरोकारवालाहरूले दुई बुँदे प्रतिबद्धता जनाएका छन् । जसमा मानसिक स्वास्थ्यको सवाल सम्बोधन गर्न स्थानीय, प्रदेश र सङ्घीय तहमा नीतिगत व्यवस्थाका लागि पहल गर्ने र आर्थिक अनुशासन कायम गर्न भएका नीतिगत व्यवस्था प्रभावकारी कार्यन्वयन गर्न तथा अपुग कार्यविधि निर्माण गरी कार्यन्वयन गर्ने रहेका छन् ।

photo20191114okhaldhunga (1)

photo20191114okhaldhunga (2)

photo20191114okhaldhunga (3)

शिवप्रसाद ढुङ्गाना