आर्थिक अधिकारका विषयलाई वर्ष पुस्तकमा समेटनुपर्नेमा जोड

  ०७६ असार १० गते

मानव अधिकारसँग जोडिएका आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारका घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्राथमिकताका साथ समेट्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा असार १० गते वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सुर्खेतमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

Photo20190626Surkhet (1)

सहभागीहरूले नियमित बजार अनुगमनको अभावमा प्रदेशको राजधानी वीरेन्द्रनगरवासीले अखाद्य वस्तु तथा स्वच्छ खानेपानी उपभोग गर्नबाट बञ्चित हुनु परेको र आर्थिक दुरावस्थाका कारण बढदो आत्महत्या, घरेलु हिंसा तथा जोखिममा परेका बालबालिकाले भोग्नु परेको घटनालाई वर्ष पुस्तकमा समेट्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले वर्ष पुस्तकमा सङ्घीय सरकारबाट हुने घटना मात्रै समेटिएको हुँदा प्रदेश सरकार र स्थानीय सरकारबाट हुने मानव अधिकार उल्लङ्घनका घटनालाई समेटनुपर्ने बताए ।

Photo20190626Surkhet (2)

सरकारले जनहितका लागि गरेका उदाहरणीय कार्यलाई पनि वर्ष पुस्तकमा समेटन प्रजिअ पोखरेलले सुझाव दिए ।

कानुनी सचेतनाको अभावमा मानव अधिकार उल्लङ्घनका घटना हुने गरेकाले सरोकारवाला पक्षले सचेतनासम्बन्धी कार्यक्रमलाई गाँउगाँउसम्म पुर्‍याउनु पर्नेमा उनको जोड छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले मानव अधिकार संरक्षण सम्बर्द्धनमा नेपाल प्रहरी सदैव सजग रहेको चर्चा गर्दै मानव अधिकारप्रति सम्मान गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेकपाका टिकाराम शर्माले मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्यूनीकरण गर्ने खालका सकारात्मक सन्देशहरू वर्ष पुस्तकमा समेटनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोविन्द सुवेदीले समाज सुधारका लागि शिक्षाको माध्यमबाट चेतनामुलक कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका कोषाध्यक्ष अनन्त पौडेलले वर्षपुस्तकमा समेटिने घटनाहरू वस्तुपरक हुनुपर्ने उल्लेख गरे । जेलर लक्ष्मी खरेलले कानुनी प्रक्रियाका लागि अर्धन्यायिक निकायमा जाने घटनालाई वर्ष पुस्तकमा समेटनु पर्ने बताइन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले मानव अधिकारको विषय बृहत रहेको चर्चा गर्दै सहभागीहरूले दिएको सुझावलाई आवश्यकता अनुसार वर्ष पुस्तकमा समेट्ने बताए ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षा प्रमुख, नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यस अवधिमा सङ्कलित ४६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरिएको थियो ।

जसमध्ये २२ ओटा घरेलु हिंसाका, गिरफ्तार र कुटपिटका चार, बलात्कार र यौन दुर्व्यवहारका दुई, बलात्कारपछि हत्या एक, परिवारजनबाट हत्या एक, कथित बोक्सीको आरोप एक, वहुविवाह एक, अपहरण तथा शरीरबन्धक एक, यातना तथा क्रुर अपमानजनक व्यवहार चार, बालविवाह तीन र संरचना क्षतिका दुई रहेका छन् ।

दुर्गा थापा