आफैँले बनाएका घरको अनुदान दिन भूकम्प प्रभावितको माग

  ०७४ पुस ६ गते

उत्तरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-१ रानीपौवामा पुस ४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी भूकम्प प्रभावितहरूले आफैँले बनाएका घरको अनुदान दिन माग गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा भूकम्प प्रभावितले गाउँमा प्राविधिक नआउँने गरेका भन्दै आफैले बनाएका घरको अनुदान दिनु पर्नेमा माग गरेका हुन् ।

कार्यक्रममा भूकम्प प्रभावितहरूले अनुदान दिन माग गर्दै आवश्यक प्रक्रिया पुर्‍याउन गाउँपालिकालाई आग्रह गरे ।

सुन्दरी गाउँपालिका-१ नम्बर वडामा दोस्रो किस्ता पाउने ८ सय ८४ जना लाभग्राही थिए । जसमध्ये ३४ जना लाभग्राहीले मात्र दोस्रो किस्ताको रकम पाएको त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत पुनर्निर्माण प्राधिकरणका प्राविधिक इञ्जिनीयर सुनिलकुमार श्रेष्ठले बताए ।

दराइँ र कूमालको बाहुल्य रहेको यस वडाका भूकम्प प्रभावितहरूलाई गाउँपालिकाले सहयोग पुर्‍याउने र नियम अनुसार निर्णयहरू गरेर नीतिगत रूपमा जनताको पक्षमा काम गर्ने गाउँपालिका अध्यक्ष शम्भु थापाले बताए ।

गाउँबासीले प्राविधिक नै चिन्न नसकेको, थोरै घर निर्माण भएको, डिपिसी गर्ने समय सकिन लाग्दा समेत जानकारी नभएको, दोस्रो किस्ताको लागि प्राविधिकले सिफारिस नगरेको भूकम्प प्रभावितले गुनासो गरेका थिए ।

भूकम्प प्रभावित गाउँमा ५० को सङ्ख्यामा हात्तीपाइले भएकाहरूको समस्या रहेको र उनीहरूले घर बनाउन सनकेको अवस्थामा समस्यामाथि समस्या आएको स्थानीय दलबहादुर दरइले बताए ।

सीताराम अधिकारी