असोजको पहिलो सातासम्म भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराइने

  ०७३ भदौ १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौंडामा भदौ १३ गते 'भूकम्पपीडितहरूको अवस्था र पुनःनिर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

Photo20160829Makawanpur

कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले असोजका पहिलो सातासम्म सबै भूकम्पपीडितरूलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भदौको २२ गतेसम्म लाभग्राहीहरूसँग अनुदान सम्झौता गरिसक्ने र असोज ७ गतेसम्म लाभग्राहीहरूलाई सरकारले उपलब्ध गराउने पहिलो किस्ताको रकम उपलब्ध गराउने जानकारी गराएका थिए ।

जिल्लाका लाभग्राहीहरूमध्ये भदौ १३ गतेसम्म १० हजार ६४ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । फाखेल, कोगटे, नामटार, टिष्टुङ, कुलेखानी, आग्रँ र वुढीचौर गाविसका भूकम्पपीडितहरूले अनुदान सम्झौतासँगसँगै २ हजार ३७  लाभग्राहीले घर बनाउनका निम्ति सरकारबाट पाउने अनुदान रकमको पहिलो किस्ता बैङ्कमार्फत पाइसकेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकृत न्यौपानेले जानकारी गराएका थिए ।

'अहिले लाभग्राहीहरूसँग अनुदान सम्झौता र अनुदान उपलब्ध गराउने कार्य तीव्रगतिमा भइरहेको छ'-योजना अधिकृत न्यौपानेले भने-'गाविस सचिवहरूलाई भूकम्पपीडितहरूको काम उच्च प्राथमिकतामा राख्न निर्देशन गरेका छौँ । अनुगमनलाई पनि तीव्र बनाएका छौँ ।'

मानव अधिकार सञ्जाल मकवानपुरका अध्यक्ष जनक लम्सालले ऐलानी जग्गामा बसोवास गर्दै आएका भूकम्पपीडितहरूसँग अनुदान सम्झौता गर्न सचिवहरूलाई समस्या भएको उनले बताए । विशेषगरी मकवानपुरको धियाल, फापरवारी र राईगाउँ गाविसमा उक्त समस्या रहेको उनको भनाइ थियो । 'भूकम्पपीडितहरूसँग जग्गाधनी पुर्जा नभएकाले अनुदान सम्झौता गर्न समस्या छ'-उनले भने,-'यो समस्या माथिबाटमात्र समाधान गर्न सकिन्छ ।' यो सङ्ख्या जिल्लामा ५ हजार भन्दाबढी छ । उनका अनुसार धियाल गाविसका ९५ प्रतिशत बासिन्दा लालपुर्जाविहीन छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको नाम छनोट गरेकोमा चित्त नबुझेर विभिन्न गाविसका २३ हजार ३ सय ५ जना भूकम्पपीडितले गुनासो दर्ता गराएका छन् । २०६८ को जनगणना अनुसार मकवानपुरमा ८६ हजार १ सय २७ घरघुरी रहेका छन् । तीमध्ये भूकम्पले क्षतिग्रस्त बनाएका ३० हजार २ सय २८ घरधुरीका परिवारसँग अनुदान सम्झौता गर्ने सूची प्राधिरकणले सार्वजनिक गरेको छ ।