अपाङ्गता, यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख जातिको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता

  ०७६ मङ्सिर २२ गते

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले अपाङ्गता, यौनिक अल्पसङ्ख्यक, लोपोन्मुख र अन्य जातजातिको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर २१ गते वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार कार्यान्वयनका लागि स्थानीय सरकारको आवश्यकता तथा अवस्था अध्ययन विषयक कार्यशालामा बोल्दै नगर प्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले अधिकार सुनिश्चितताका लागि नगरपालिकाका सबै सेवा प्रदायक कार्यलय भवनहरू अपाङ्गमैत्री निमार्णमा जोड दिने, श्रवणशक्ति गुमाएका तथा दृष्टिविहीनहरूको शिक्षा स्वास्थ्यमा पहुँच अभिबृद्धि हुने योजना निर्माण गर्ने, यौनिक अल्पसङ्ख्यकहरूलाई समाजमा सहज रूपमा घुलमिल गर्नगराउन आवश्यक योजना बनाई अघि बढ्ने, लोपोन्मुख र अन्य जातजातिहरूको शिक्षाको विकासमा टेवा पुग्ने कार्यविधि ल्याउने उल्लेख गर्नुभयो ।

नेपालको संविधानमा उल्लिखित मानव अधिकारको प्रतिबद्धता, संरक्षण सम्बद्र्धनमा स्थानीय सरकारको भुमिकालाई प्रभावकारी बनाउने चर्चा गर्दै नगर प्रमुख सुवेदीले मानव अधिकारमैत्री कानुन निर्माण र कार्यान्वयनमा इन्सेकसँग समन्वय र सहकार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा वीरेन्द्रनगर नपका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले मानव अधिकारमैत्री कानुन निमार्णमा इन्सेकलगायतका सङ्घ संस्थाहरूसँग सहयोगको खाँचो रहेको औँल्याउनु भयो ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपप्राध्यापक कमल लम्सालले मानव अधिकारको सवाल, विशेषता, दायित्व र जनप्रतिनिधिहरूको भुमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

photo20191208surkhet (1)

photo20191208surkhet (2)

photo20191208surkhet (3)

photo20191208surkhet (4)

photo20191208surkhet (5)

दुर्गा थापा