अधिकार प्रत्याभूतिको माग गर्दै मानव अधिकार समूहले उपमनपामा ज्ञापन पत्र बुझाए

  ०७७ पुस २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह घोराहीले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासका अधिकार  प्रत्याभूतिको माग गर्दै घोराही उपमनपामा पुस २३ गते २७ वुदे ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जावफदेही बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत मानव अधिकार समूहका अध्यक्ष लौटन चौधरीले घोराही उपमनपाका मेयर नरुलाल चौधरीलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

ज्ञापन पत्रमा कोरोनाका कारण बन्द रहेका विद्यालयहरूले असोजदेखिको शुल्क लिइरहेको, अभिभावक शुल्कका नाममा शैक्षिक शुल्क लिइरहेको, विद्यालयहरूमा विषयगत शिक्षकको समस्या रहेकाले समस्या समाधानका लागि माग गरिएको छ ।

photo2020010701dang

यसैगरी, बर्थिङ सेन्टरहरूमा भौतिक पूर्वाधारको अभाव रहेको, कोभिड सङ्क्रमणबाट जोगिन सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सबै स्वास्थ्य संस्था तथा एक वडा एक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई काम अनुसारको खर्च उपलव्ध गराउनु पर्ने माग उल्लेख गरिएको छ ।

एक वडा एक दक्ष कृषि प्राविधिकको व्यवस्था गरिनु पर्ने, समयमै मल, बिउको व्यवस्थापन, अर्गानिक खेतीको प्रवद्र्धन, नियमित बजार अनुगमन, विषादी नियन्त्रण, माटो परीक्षण, धानको मूल्य निर्धारण गरिनु पर्ने, फुसको घरमा जस्ता पाता लगाउनु पर्ने, सुकुम्वासी तथा भूमि हीनहरूलाई भूमिको व्यवस्था गर्नुपर्ने, अव्यवस्थित जग्गा प्लटिङ रोक्नु पर्ने लगायतका माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै घोराही उपमनपाका मेयर नरुलाल चौधरीले नागरिक अधिकारका लागि उपमहा नगरपालिकाले काम गरिरहेको बताउनु भयो । उहाँले उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै मानव अधिकारको प्रत्याभूत गर्न स्थानीय सरकार गम्भीर रहेको बताउनु भयो ।

जयनारायण पुन