अखाद्य वस्तु नियन्त्रण गर्न नगरभित्रका सबै बजार अनुगमन गर्नुपर्छः सरोकारवाला

  ०७६ माघ २४ गते

म्याद नाघेका तथा अखाद्य वस्तु नियन्त्रण गर्न नगरभित्रका सबै बजारहरू अनुगमन गर्ने बनगाड कुपिण्डेले योजना बनाएको छ ।

इन्सेक सल्यानको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत माघ २४ गते जिल्लाको बनगाडक कुपिण्डे नगरपालिकामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधिले यस्तो प्रतिबद्दता व्यक्त गरेका छन् ।

खाद्य अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बिचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक मञ्जु यरीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले खाद्य अधिकार मानिसको महत्वपुर्ण अधिकार भएकाले यसको विषयमा सबैलाइ बुझाउन आवश्यक रहेको र खाद्य अधिकारको प्रत्याभुति नगरपालिका लागिपरेको बताउनु भयो ।

सो अवसरमा उहाँले खाद्य अधिकारका विषयमा सचेतना फैलाउनुका साथै फागुन महिनाभित्र नगरभित्रका सबै साना ठुला बजार अनुगमन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयोे ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका कर्णाली सदस्य तथा शिक्षक गणेश विसीले राज्यले अधिकार सँगै पहुँचको पनि व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले खाद्य अधिकार मानिसको मौलिक हक संग जोडिएकाले यसतर्फ राज्य गम्भीर बन्नुपर्ने सुझाव राख्नु भयो ।

दैनिक उपभोग्यका सामग्री खरिद गर्ने स्थनीय बजारमा वर्षको एक पटक मात्रै अनुगमन गर्नु भनेको व्यापारीमा आतङ्क सृजना गर्नु जस्तै भएको उहाँको भनाइ छ ।

अखाद्य वस्तु नियन्त्रण गर्ने हो भने नियमित बजार अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । तीनै तहको सरकार अहिले विकासको नाममा बाटोघाटो जस्ता पुर्वाधार विकासतर्फ मात्र लागेको भन्दै उहाँले उत्पादन सँग जोडिएर विकास गर्ने परिपाटीले खाद्य अधिकार पनि सुनिश्चित हुने बताउनु भयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले खाद्य अधिकारको मानिसको बाँच्न पाउने महत्वपूर्ण अधिकारसँग जोडिएकाले यसको सुधारतर्फ सबै लाग्नु पर्ने बताउनु भयो ।

मानव अधिकार समूह बनगाड कुपिण्डेका सदस्य सचिव दुर्गा बिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले खाद्य अधिकारका विषयमा जानकारी दिनु भयो ।

परियोजनाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा समस्या पहिचान गर्दै जिम्मेवार निकायलाई अझ उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

photo20200208salyan (1)

photo20200208salyan (2)

photo20200208salyan (3)

photo20200208salyan (4)

photo20200208salyan (5)

मिना बुढाथोकी