२०७५ भदौ ११ गते - सत्य तथ्य सार्वजनिक गर

  ०७५ भदौ ११ गते

२०७५ भदौ ११ गते

सत्य तथ्य सार्वजनिक गर

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नपा-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या घटनामा संलग्नका बारेमा प्रहरीले हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । निर्मलाको शव २०७५ साउन ११ गते फेला परेको थियो । साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जान भनेर निस्केकी निर्मला साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए । साउन ११ गते भीमदत्त नपा-१८ निम्बुखेडा सडक नजिकै खोला किनारमा साइकल र किताब कापी फेला परेको थियो । सामान फेला परेको स्थान वरपर खोजतलास गर्ने क्रममा खोलापारी रहेको उखुबारीमा बलात्कार पश्चात हत्या गरेर फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।

भीमदत्त नपा-१९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई गिरफ्तार गरी भदौ ४ गते पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सार्वजनिक गर्‍यो । घटनाको २५ औँ दिन मानसिक सन्तुलन ठिक नभएका विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै पीडित परिवार र स्थानीयबासीहरूले भदौ ५ गते नाराबाजी गर्दै महेन्द्रनगर बजार बन्दको आहृवान गरेका थिए । आन्दोलनले उग्ररुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्‍यो । घटनामा संलग्नलाई गिरफ्तार नगरेको भन्दै भदौ ९ गते जिल्ला प्रहरी कार्यालय वरपर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा १७ वर्षीय सन्नी खुनाको मृत्यु हुनाका साथै २५ जना भन्दा बढी घाइते भएका छन् ।

घटनाको अनुसन्धान गर्न सरकारले सहसचिवको नेतृत्वमा अनुसन्धान टोली बनाएको छ । नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल मानिन्छ । तर, यो र यस्ता अनेक घटनामा प्रहरी अनुसन्धानको असफलताले प्रहरीमाथिको विश्वास घट्नेमा दुईमत छैन । यो घटनामा सरकारी अधिकारीकै संलग्नता रहेको स्थानीयबासी आशंका गर्छन् । प्रहरीको व्यवहारले पनि त्यस्तै सङ्केत गरेको छ ।

महिला तथा बालबालिकामाथि हुने हिंसा त्यसमा पनि बलात्कार र यौन दुर्व्यवहारका घटनाका समाचार दिनप्रतिदिन बढिरहेका छन् । राज्यका निकाय उदासिन हुनु, दण्डहीनताले प्रश्रय पाउनुजस्ता कारणले पीडितले न्याय नपाउने अवस्था सृजना हुनु लोकतान्त्रिक राज्य व्यवस्थाको लाजमर्दो विषय हो । निर्मला पन्त हत्या प्रकरणमा उदासिन प्रहरीलाई कारबाही गर्न, घटनाका दोषीलाई यथासम्भव चाँडो कानुनी दायरा ल्याउन, घाइते प्रदर्शनकारीको उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न हामी जोडदार माग गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष