स्वास्थ्य बीमाको सेवा लिन सेवाग्राहीलाई सास्ती

  ०७६ पुस २५ गते

सरकारले उपलब्ध गराएको स्वास्थ्य बीमाको सेवा लिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी पोखरा महानगरपालिका वडा २९ की ५६ वर्षीया ललिती पौडेलले स्वास्थ्य बीमा निकै झन्झटिलो लागेको गुनासो गर्नुभयो ।

बिहान ८ बजेबाट खुल्ने काउन्टरमा टिकट काट्न सातै बजे प्रतिष्ठान आइपुग्नु भएकी उहाँ अपराह्न्न ३ बजेसम्म कहिले उता त कहिले उता गर्दै हुनुहुन्थ्यो  ।

‘बिहान सातै बजे पेटको उपचार गर्न भनि आएकी हुँ । अहिले सम्म औषधी लिन पाएकी छैन , त्यत्रो लाइन बसे, सबै घर गए मेरो औषधी लिन झ्यालै पुगेसी कागज मिलेन लिएर आउनुस् भने ।’,उहाँ भन्नुहुन्छ–,‘काउन्टरमा आए यहाँ होइन भन्छन् फर्काउँछन् उता गए काउन्टरमा जानुस भन्छन् के हो के हो’ ।

प्रतिष्ठानमै उपचार गर्न आउनुभएका पोखरा मनपा–३० का ६१ वर्षीय शालिकराम लामिछाने सरकारले ल्याएको कार्यक्रम राम्रो भएपनि प्रकृयाको झन्झट र व्यवस्थापनमा कमजोरी रहेको बताउनुहुन्छ ।

‘कार्यक्रम त राम्रो छ तर कागजी प्रकृया झन्झटिलो र व्यवस्थापनमा कमजोरीका कारण दुःख पाइयो ।’,उहाँले भन्नुभयो,–‘सेवा लिने क्रममा निकै गाह्रो हुन्छ, सक्ने त उभिन्छन् नसक्नेहरुलाई बस्नै कठिन छ, मान्छे अत्याधिक हुन्छन् ।’

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएपनि यसको प्रकृया बारे बीमाकर्ताहरु नै स्पष्ट हुन नसकिरहेको अवस्था छ ।

स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले प्रकृया झन्झट भन्दा पनि यसबारे बीमितहरुले बुझाउन नसकेको बताउनुहुन्छ । ‘बीमितहरु पनि अझै कार्यक्रम बारे पोख्त हुनुभएको छैन उहाँहरुलाई तालिमको पनि व्यवस्थापन गर्दैछौं’,–उहाँले भन्नुभयो ।

स्थानिय तहमा अस्पताल नहुँदा बीमा केन्द्र रहेको अस्पताल टाढा रहेका कारणपनि त्यस क्षेत्रका नागरिक बीमा आर्कषण कम रहेको हुन सक्ने उहाँको भनाइ छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्य बीमा फोकल पर्सन भिम प्रसाद पौडेलले पुराना संरचना , जनशक्तिको अभाव र नागरिकहरुमा प्रक्रियाको बारेमा ज्ञान नहुँदा सेवाप्रवाहमा समस्या रहेको बताउनुहुन्छ ।

पौडेलका अनुसार दैनिक ८ सयको हाराहारीमा स्वास्थ्य बीमाका सेवाग्राहीहरु स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने गरेका छन् ।तर कर्मचारी अभावका कारण एक जना कर्मचारी बराबर ८० देखी ८५ जना सेवाग्रहीलाई सेवा दिनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । कतिपय अवस्थामा टिकट सिमित राखेर बीमाका ५० प्रतिशत सेवाग्राही फर्काउनुपर्ने अवस्था समेत आएको पौडेलको भनाइ छ ।

२०१२ र २६ सालमा निर्माण भएका संरचनामा ५० देखी ६० जना सेवाग्राही बस्दा भिडभाड हुने र ओपिडी कक्षमा एकै दिन सयौं सेवाग्राही हुदाँ सेवाप्रवाहमा समस्या देखिएको पौडेलको भनाइ छ ।

प्रतिष्ठानमा स्वास्थ्य बीमाका काउन्टरमा जेष्ठ नागरिकहरुका लागी छुट्टै व्यवस्था गरिएपनि ओपिडीमा सहज रुपमा उपचार गर्न पाउने व्यवस्थापन छैन । त्यसमा पनि प्रक्रिया झन्झटिलो हुदाँ बीमा बाहेकका ५ जनालाई टिकट काट्दा बीमाको १ जनाको मात्रै टिकट काट्ने अवस्था रहेको छ ।

कास्कीमा हाल सम्म १ लाख ३८ हजार ६ सय ८० जनाले स्वास्थ्य बीमा गराएका छन् । जसमा ७० वर्ष माथिका १४ हजार बढी जेष्ठ नागरिकहरुले निःशुल्क बीमाको सेवा लिएका छन् ।

 


सुशन घिमिरे