विस्थापित माझीहरु जग्गा धनी पुर्जा बिहिन

  ०७६ माघ २९ गते

आफ्नो थातथलोबाट २८ वर्ष पहिले विस्थापित भएका बागलुङका माझीहरुले अहिले सम्म पनि जग्गा धनी पुर्जा प्राप्त गर्न सकेका छनैन् ।

पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा आफ्नो थातथलो खनिया घाटबाट २०४८ सालमा विस्थापित १४ माझी परिवार २८ वर्षसम्म बागलुङ नपा–१ बाङगेचौरमा अस्थाई बसोबास गर्दै आएका थिए ।

विस्थापित हुने समयमा एउटा परिवारमा बढीमा ५ जना सदस्य थिए । अहिले उनीहरुको परिवार बढेर १२ भन्दा बढी भएको छ । नगरपालिकाले निर्माण गरेका २ वटा कोठामा गुजरा चलाउन मुस्किल परेको स्थानिय कृष्ण माझीले बताउनुभयो ।

यहाँका माझीको मुख्य पेशा कालीगण्डकीमा बालुवा र गिट्टी चाल्नु हो । कडा शारिरीक परिश्रमबाट कमाएको दुई पैसा छाक टार्नमै सकिन्छ । ‘नयाँ संरचना थपौ भने आफ्नो हातमा पुर्जा छैन, आज भोलि भन्दा भन्दै २८ वर्ष बित्यो ।’ कृष्णले भन्नुभयो–‘दुःखले जोडेको पैसाले यो घरको मर्मत सम्भार गरौ भने पनि भोलि आफ्नो हुने हो की होइन भन्ने डर लाग्छ ।’

त्यहाँका स्थानिय गंगा माझीका अनुसार उहाँका बाबु आमाले आफ्नो घर छोडेर विस्थापित हुँदा उहाँ जन्मनुभएको थिएन । ‘आमाले दाई र दिदीलाई लिएर आफ्नो बनेको घर छोडनुभएको थियो । तर अहिले दाईका समेत छोरा छोरी जन्मिसकेका छन् यति साँघुरो ठाउँमा कसरी व्यवस्थापन हुनसक्छ’– गंगाले गुनासो गर्नुभयो ।

यहाँका माझीको नगरपालिकाले ठुलो घर बनाइदिए हुन्थ्यो भन्ने अपेक्षा नराखेको तर समयमै कागजी रुपमा आफ्नो नाममा घर बनाइदिए आफै घरको तल्ला थप्ने र व्यवस्थापन गर्ने उनीहरुको विचार रहेको कुरा स्थानीय माझीहरुले गरेका थिए ।

उनीहरुलाई बागलुङ नगरपालिकाले पुरानै बासस्थानमा फर्काउने भन्दै कुल १ करोड २२ लाख ९० हजार रुपियाँ लागतमा ९८ लाख ३२ हजार (८० प्रतिशत) नगर विकास कोषको अनुदान, १२ लाख २९ हजार (१० प्रतिशत) नगर विकास कोषको ऋण र १२ लाख २९ हजार (१० प्रतिशत) बागलुङ नगरपालिकाको स्थानीय सहभागितामा न्यूनतम खर्चको घर निर्माण योजना अन्र्तगत २०७३ पुस २७ गतेबाट बाट १ वर्षमा निर्माण सम्पन्न गर्ने गरि १४ वटा घर निर्माण सुरु गरेको थियो ।

एकपटक २०७४ मङ्सिर २६ गते सम्झौताको म्याद सकिएपछि ६ महिना म्याद थप गरिएको थियो । २०७५ बैशाखमा माझीहरुलाई नयाँ घर उपहार दिने भन्दै नगरपालिकाले घोषणा गरेको भएपनि २०७६ सालको माघ महिनासम्म पनि माझीहरुले पूर्णरुपमा घर पाउन सकेका छैनन् ।

बागलुङ नगरपालिकाले औपचारिक रुपमा माझीलाई घर हस्तान्तरण नगरे पनि उनीहरु घरमा सरि सकेका छन् । आफुहरु विस्थापित भएर बसेको ठाउँमा खेल मैदान निर्माण हुन थालेपछि औपचारिक रुपमा घर नपाएको भएपनि आफुहरु बस्न थालेको कृष्ण माझीले बताउनुभयो ।

‘सडक निर्माणको लागि भन्दै बाउ बाजे खेदिए, खेल मैदान निर्माणको लागि भन्दैं अहिले हामीहरु पनि बसिराखेको ठाउँ छोड्न बाध्य भयौं । आफ्नो नाममा लालपुर्जा भइदिए थप व्यवस्थापनको लागि सजिलो हुन्थ्यो ।’ उहाँले भन्नुभयो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्राविधिक कारणले घरको पुर्जा निस्कन ढिलाइ भएको बताउनुभएको छ । उहाँले जग्गा धनी पुर्जा सहित घर हस्तान्तरण गर्ने मनसाय भएकाले औपचारिक रुपमा हस्तान्तरणमा ढिलाई भएको र माझीहरु घरमा बस्न थालिसक्नु भएको तर प्रक्रिया पुग्दासाथ औपचारिक रुपमा पुर्जा हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

माझी बस्तीका लागि नगरपालिकाले करिब १ रोपनी जग्गा खरिद गरेको थियो भने स्थानियहरुले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । घर निर्माणका लागि बाग्लुङ नपा–१ खनियाबासमा नगरपालिकाले ४२ आना जग्गा खरिद गरेर निर्माण कार्य अघि बढाइएको थियो । माझी बस्तीमा भूकम्प प्रतिरोधी दुई सुत्ने कोठा, भान्सा कोठा र ट्वाईलेट सहितका १४ घर निर्माण भएका छन् ।

 

 

 

 

 

 


सिर्जना पन्त