भूकम्पपछि पुनर्निर्माण भएका घर नै जोखिमयुक्त

   ०७६ माघ २९ गते

२०७२ सालको भूकम्प पश्चात पुनर्निर्माण गरिएको धार्चे गाउँपालिका–७ लापु स्थित खानीगाउँको बस्तीमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित भएका छन् ।

‘सबैभन्दा सुरक्षित जग्गा छानेर घर बनाएको अहिले खोला र बस्ती बीचको दुरी ५० मिटर जति भएको छ,’ खानीगाउँका कान्छा कामीले भन्नुभयो–,‘घरको आगँन पनि चिरिएको छ ।’ बस्ती भित्र धाँजा फाटेको र दोङस्योङ खोलाले बस्ती तर्फ कटान गर्न थालेको छ ।

कान्छाको मात्र होइन खानीगाउँका एक सय १३ घर धुरीलाई आफ्नै थातथलोको जोखिमले सताएको छ । भूकम्पपछि पुनर्निर्माण भएको बस्तीका घरतर्फ  दोङस्योङ खोला सोझिएको कान्छाले बताउनुभयो । खोला छेउछाउका ५८ घर धुरीले भूकम्पपछि बनेका घर छाडेका छन् ।

५८ मध्ये २२ घर धुरी बस्ती भित्र धाँजा फाट्दा भग्नावशेष बनेको स्थानीय पुनराम गुरुङले बताउनुभयो । ‘भूकम्प जान साथ टहरोमा बस्यौ, त्यसपछि नयाँ घर बनाएर सरे, त्यो घर पनि जमिन धाँजा फाटेर वस्न नमिल्ने भयो,‘– उहाँले भन्नुभयो,‘अहिले फेरि खानीगाउँ बस्ती नजिकैको पखेरामा अर्को घर बनाएको छु ।’

सरकारी अनुदान तीन लाखमा थप थाप गरेर बनाइएको घर नै भत्किएपछि उनी चिन्तित छन् । २०७३ बाट गाउँमा आलोपालो गरेर घर बनाएको र एक वर्षको अन्तरालमा सबै घर बनाइएको स्थानीयले बताउनुभयो ।

‘२०७४ सालको साउन ९ गते दोङस्योङ खोलाले बस्तीतर्फ कटान थालेको हो ।,’ पुनरामले भन्नभुयो–,‘त्यही साउनमा बस्ती भित्र चिरा पनि पर्न थाल्यो, अनि भर्खरै नयाँ घरमा सरेका २२ घर धुरीले बस्न असुरक्षित भएको भनेर घर छाड्यौ“ ।’

खोला नजिकिएपछि २२ बाट बढेर ५८ घर धुरी गाउँ नजिकैको सुरक्षित जग्गामा सरेका छन् ।एक सय १३ घर धुरीको सुन्दर बस्तीका सबै घर भूकम्पले क्षति पु¥याएको थियो । एक सय १३ घर मध्ये ९८ घर धुरी लाभग्राही सुचिमा समावेश भएका छन् । बाँकी घरको गुनासो सम्बोधनको चरणमै छ ।

करिब दुई महिना अघि धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ सहितका जनप्रतिनिधिहरुले खानीगाँउ बस्ती सार्ने नसार्ने विषयमा स्थानीयसँग छलफल गर्नुभएका थिए ।

‘गोरखा नगरपालिकामा सार्ने विषयमा छलफल थालेका छौ,’–सन्तोषले भन्नुभयो ,‘पुनर्निर्माण प्राधिकरणसँग स्वीकृति लिएर बस्ती सार्ने प्रक्रिया थाल्छौ ।’ वडा नम्बर ७ का वडा अध्यक्ष चन्द्रमान गुरुङले पनि बस्ती सार्नुको विकल्प नरहेको बताउनुभयो ।

उक्त बस्तीको बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूवर्गविदको टोलीले अघिल्लो माघ महिनामा अध्ययन गरे पश्चात उक्त बस्ती जोखिमयुक्त भनेर निर्णय भने नभइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान ब्यवस्थापन तथा स्थानीयको पुर्वाधार कार्यालय) गोरखाका प्रमुख रामशरण आचार्यले बताउनुभयो ।

उहाँले जोखिमयुक्त भन्दै गर्दा व्यवस्थापनको पाटो पनि हेर्नुपर्ने र व्यवस्थापनको पाटोपनि टुङ्गाउने गरि छलफल चलिरहेको जानकारी दिनुभयो ।

 

 


हरिराम उप्रेती