प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

  ०७७ असोज १३ गते

दोरम्बा गाउँपालिका–५ निवासी प्रतिबन्धित नेकपाका कार्यकर्ता ३५ वर्षीय कुलदिप थापामगरलाई ०७७ असोज १२ गते प्रहरीले रामेछाप कारागारको गेटबाटै गिरफ्तार गरेको छ ।

जिल्ला अदालत रामेछापको ०७७ असोज १२ गतेको फैसलाले जेल मुक्त हुनुभएका थापामगरलाई जेलबाट छुटेर गेटमा निस्कने बित्तिकै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

कारागारको गेटबाट निस्कन वित्तिकै मगरलाई तपाईँसँग केही कुरा छ भनि दुईजना प्रहरीले नियन्त्रणमा लिई भ्यानमा हालेर लगेको उहाँलाई बुझ्न जानुभएका आफन्त श्याम मगरले बताउनुभयो ।

उहाँलाई कहाँ लगिएको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन । थापामगर विरुद्ध ०७६ साउन २३ गते जिल्ला अदालत रामेछापमा अपराधिक उपद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । त्यसपछि अदालतको आदेशमा उहाँ पूर्पक्षको लागि रामेछाप कारागारमा थुनुवाको रूपमा बस्दै आउनुभएको थियो ।


नवराज घिमिरे