विप्लवका कार्यकर्ताद्वारा दुईओटा ट्रकमा आगजनी

  ०७५ माघ ५ गते

वीरेन्द्रनगरका एक व्यापारीलाई धम्क्याएर ५ लाख चन्दा माग गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ताविरूद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग अन्र्तगत मुद्दा चलाएको विरोधमा सुर्खेत बन्दको आह्वान गरेको सो पार्टीका कार्यकर्ताहरूले दुई ओटा ट्रकमा आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गरेको भनी सो पार्टीका कार्यकर्ताहरूले माघ ५ गते बिहान वीरेन्द्रनगरतर्फ आइरहेको ना ६ ख ७३१३ नम्बरको ट्रकमा भेरीगङ्गा नपा–११ सत्तरी तथा ना ४ ख १७३२ नम्बरको ट्रकमा बराहताल गाँउपालिका–९ मसिनाको जङ्गलमा आगजनी गरेका हुन् ।

आगजनीबाट दुवै ट्रक पुर्णरूपमा क्षतिग्रस्त हुनाको साथै ट्रकमा ल्याइएका खाद्यान्न समेत जलेर नष्ट भएको छ । बन्दको क्रममा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले नै दुवै ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

भेरीगङ्गा नपाको सत्तरीमा भएको आगजनीमा संलग्न रहेको भनी सो पार्टीका कार्यकर्ता भेरीगङ्गा नपा–९ का ३७ वर्षीय पुर्णबहादुर विसीलाई इलाका प्रहरी कार्यालय छिञ्चुबाट खटिएको प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । सो घटनामा विसीको संलग्नता रहेको अनुसन्धानको क्रममा खुल्न आएको इप्रका छिञ्चुका इन्स्पेक्टर निरज चौलागाईले बताए ।

यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुर्खेतका इञ्चार्ज गणेश वोगटीले आगजनी घटनामा पुर्णबहादुर विसीको संलग्नता नरहेको तथा आफ्नो पार्टीका कार्यकर्ता २८ वर्षीय गोविन्द योगी र ३१ वर्षीय कमलसिंह बुढालाई प्रहरीले झुठो मुद्दा चलाएको बताएका छन् ।

वीरेन्द्रनगरबाटै ०७५ पुस २२ गते गिरफ्तार भएका नेकपाका कार्यकर्ता बुढाविरूद्ध प्रहरीले पुस २३ गते मुद्दा दायर गरेको थियो ।

photo20190119surkhet


दुर्गा थापा