नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, एक जना घाइते

  ०७४ मङ्सिर ९ गते

रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित आचार्य गाउँमा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति झडप भएको छ ।

झडपमा वाम गठबन्धनका कार्यकर्ता गोपाल आचार्य घाइते भएका छन् । घाइते गोपालको नाकमा गहिरो चोट लागेकाले सामुदायिक अस्पताल दिक्तेलमा उपचार भइरहेको वामगठबन्धनले जनाएको छ ।

दुवै पक्षले मादक पदार्थ सेवन गरेकोले सामान्य भनाभनमा दोहोरो कुटपिट भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।

झडपको समाचार सङ्कलन गर्न घटनास्थल पुगेका एभिन्युजका पत्रकार हरिबोल आचार्य र जनबोली न्युज नेर्टवर्कका सम्पादक इन्द्र आचार्यमाथि दुर्व्यवहार भएको छ ।

समाचार सङ्कलनमा गएका पत्रकारहरूको मोटरसाइकल, ब्लुबुक, लाइसेन्ससहितका कागजातसमेत खोसिएको प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ति मार्फत जनाएको छ ।

पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति प्रेस चौतारी र प्रेस सेन्टरले आपत्ति जनाउँदै दुर्व्यवहार गर्नेमाथि कानुनी कारबाहीको माग गरेका छन् । प्रजिअ अधिकारीले चार ओटा मोटरसाइकल नियन्त्रणमा लिएको बताए । घटनामा संलग्न रहेको आरोपमा वाम गठबन्धनका कार्यकर्ता सुवाश आचार्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गृह प्रशासनको गैरजिम्मेवारीपनाका कारण झडप भएको वाम गठबन्धनले आरोप लगाएको छ । 'निर्वाचन आचारसंहिता विपरीत भोज आयोजना गरेको विषयमा प्रशासनलाई पटकपटक जानकारी गराउँदा समेत प्रशासनले बेवास्ता गरेकाले भोज विथोलेको झडपमा घाइते गोपाल आचार्यले बताए ।

खाना खाँदै गरेको बेला वाम गठबन्धन पक्षले एक्कासी आक्रमण गरेपछि हातपात गरिएको नेपाली काङ्ग्रेसका खोटाङ सभापति नरेश श्रेष्ठले प्रतिक्रिया दिए ।


सुनिता मगर