प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ मङ्सिर २१ गते

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर २० गते राति गिरफ्तार गरेको छ ।

यहि मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साईन बोर्ड मेटाएर नेकपा (विप्लव) बनाउनमा संग्लन रहेको भन्दै प्रहरीले खोजी गरिरहेका विद्यार्थी नेतालाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेमा लेकम गाउँपालिका–१ सर्मौलीका २० वर्षीय जिवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । दुवै जना जिल्ला सङ्गठन समितिका सदस्य रहेको प्रहरीले जनाएको छ ।

स्थानीय सरकारको वडा कार्यालय भवनमा सो पार्टीका कार्यकर्ताले आफ्नो साइन बोर्ड बनाउनुको साथै बोर्डमा हँसिया र हथौडा चिन्ह समेत बनाएका थिए ।


नरेन्द्रसिंह कार्की