नियुक्तिपत्र बिना नै काम गर्छन् निजी विद्यालयका शिक्षक

  ०७६ असोज ३० गते

म्याग्दी जिल्लामा रहेका निजी विद्यालयमा कार्यरत् अधिकांश शिक्षक तथा कर्मचारीहरू नियुक्तीपत्र बिना नै काम गर्न बाध्य भएको बताएका छन् । नियुक्तीपत्र बिना काम गर्नुपर्दा उनीहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाउने गरेको गुनासो रहेको छ ।
निजी तथा संस्थागत् विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु), म्याग्दीका अध्यक्ष खेम सुवेदीले जिल्लामा रहेका अधिकांश विद्यालयमा नियुक्ती तथा करारनामा बिनै काममा लगाउने गरेको गुनासो गरे । उनी भन्छन्–‘विद्यालयका शिक्षकहरूलाई न त कुनै नियुक्ती पत्र दिइएको छ, न त कुनै करारको व्यवस्था नै गरिएको छ ।’
म्याग्दी जिल्लाका ६ स्थानीय तहमा २८ ओटा निजी विद्यालय रहेका छन् । बेनी नगरपालिका भित्र १४ ओटा विद्यालय रहेका छन् भने मंगला गाउँपालिकामा चार, मालिकामा पाँच, धवलागिरीमा दुई, अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा एकएकओटा निजी विद्यालय रहेका छन् ।
जिल्ला भित्र रहेका निजी विद्यालयहरूले आफ्नो सबै प्रकारको तथ्याङ्क सम्बन्धीत निकायमा समेत राम्रो सँग नबुझाएको देखिन्छ । Integrated Educational Information Management System (IEIMS) मा सबै विद्यालयहरूले आफ्नो विवरण भर्नुपर्ने भए पनि उनीहरूले सबै तथ्याङ्क नभरेको शिक्षा विकास तथा समन्वय इकाई, म्याग्दीले जनाएको छ ।
इकाईका अनुसार आइइआइएमएसमा भएको तथ्याङ्क अनुसार बेनी नगरपालिकामा दुई सय ४९, मालिका गाउँपालिकामा ४३ र मंगला गाउँपालिकामा ५२ जना शिक्षक कर्मचारीहरू कार्यरत् रहेका छन् । तर म्याग्दी जिल्ला भित्रका २८ ओटा निजी विद्यालयहरूमा छ सय भन्दा बढी शिक्षक कर्मचारी कार्यरत् रहेको इकाईले जनाएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालयले २०७६ साउन ११ गतेको पत्रानुसार सबै प्रकारका कर्मचारीहरूको तलब निर्धारण गरेको छ । सोही पत्रमा सामुदायिक विद्यालय तर्फको शिक्षकको तलब दुई भन्दा बढी विषयमा एसएलसी अनुत्तीर्ण शिक्षकका लागि सुरूको तलब २० हजार ६ सय ८० रुपियाँ तोकिएको छ ।
पछिल्लो तथ्यांकलाई हेर्ने हो भने एसएलसी उत्तीर्ण शिक्षकका लागि राज्यले तोकेको शिक्षक तृतीय श्रेणीको तलब २६ हजार ६ सय १० रुपियाँ रहेको छ । तर जिल्लाका निजी विद्यालयहरूमा मासिक ६ हजार रुपियाँ पनि कार्यरत् शिक्षक रहेको इकाईले जनाएको छ ।
निजि विद्यालयहरूमा शिक्षकहरु सहमत भएर न्यून तलबमा पनि काम गर्ने गरेको प्याब्सन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुवेदी बताउँछन् । सुवेदी भन्छन्–‘कतिपय विद्यालयहरूमा राज्यले तोकेभन्दा बढी पनि पारिश्रमिक पाउने गरेका छन् । राज्यले शिक्षक सेवा आयोग मार्फत् शिक्षक पदपुर्ती गर्ने सामुदायिक विद्यालयका लागि नाम निकाल्न सक्यो भने त राज्यले तोकेकै तलब पाइन्छ । निजी विद्यालयहरूमा आफ्नै समस्याहरू भएकोले गर्दा निर्धारित समयमा विद्यालयले पारिश्रमिक दिन नसकेका उदाहरण पनि छन् ।’
स्थानीय लोकदिप आवासीय विद्यालयमा अध्यापन गराएका शिक्षक भगिरथ कँडेल भन्छन्–‘ विद्यालयले तोकिएको तलब स्केल पनि दिएन, पहिलो वर्ष दिएको तलब भन्दा अर्को वर्ष झन् तलब घटाए, मलाइ पहिला दिएकै स्केल दिनुपर्छ भन्दा नमानेपछि मैले छ महिना पछि पढाउन छोडेँ ।’ कँडेलले आफुले नियुक्तिपत्र बिना ढेडवर्ष सम्म पढाएको बताए ।
माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयका सञ्चालक तथा प्याब्सनका पूर्व अध्यक्ष राजु केसीले नियुक्तीपत्र भन्दा पनि करारनामा गराएर शिक्षक राखिने गरेको बताए । ‘राज्यले तोकेकै तलब स्केल केहीले पाएको भएपनि सबैले पाएका छैनन् तर अन्यत्र भन्दा बढी तलब हामीले दिएका छौं’–केसीले भने ।
बेनी बजार क्षेत्रमा रहेका छ ओटा निजी विद्यालयमा सबैले करार तथा नियुक्तीपत्र नदिएको निजि तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन (प्याब्सु) म्याग्दीका अध्यक्ष खेम सुवेदीले बताए । सुवेदी भन्छन्–‘न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयमा भने करिब ९५ प्रतिशत शिक्षक कर्मचारीको नियुक्तीपत्र छ अन्य विद्यालयमा पाएका छैनन् ।’


अमृत बास्कुने