७० वर्षीया महिलाको हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ २६ गते

गैंडाकोट नपा-१५ की ७० वर्षीया भुमादेवी खत्रीको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

खोटाङ जिल्ला घर भई गैंडाकोट नपा-१५ बेल्डिया बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी पत्नी ३५ वर्षीया मिना खड्का, तनहुँ जिल्ला रिसिङ गाउँपालिका-२ घर भई हाल गैंडाकोट नपा-१५ बेल्डिया बस्ने ४५ वर्षीय बसन्त कुमार बराल र उनकी पत्नी ३८ वर्षीया कमला बराललाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको हो ।

एक्लै बस्दै आएकी बृद्धाको गहना लुट्ने क्रममा आरोपितहरूले भदौ २४ गते राति खत्रीको हत्या गरेको भन्दै स्थानीयले दिएको उजुरीका आधारमा गहना बेच्ने क्रममा आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

आरोपितहरूलाई गिरफ्तार गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी रानाभाटले बताए ।

शवको पोष्टमार्टम् भदौ २५ गते चितवन जिल्ला अस्पताल, भरतपुरमा गरिएको प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे