६ महिना यताका सुत्केरी ‘प्रोत्साहन भत्ताबाट बञ्चित’

  ०७६ पुस १८ गते

हिमाली जिल्ला डोल्पाका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा गर्भ जाँच गराई सुत्केरी हुने महिलाहरूले सुत्केरी प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा गएर नियमित गर्भ जाँच गराउने र स्वास्थ्यचौकीमै गएर सुत्केरी हुने महिलालाई सुत्केरी प्रोत्साहन भत्ता उपलब्ध गराउने ब्यवस्था गरेपनि साउनयता डोल्पाका ८ ओटै स्थानीय तहका महिलाले सुत्केरी भत्ता पाउन नसकेको गुनासो स्थानीयको रहेको छ ।
उत्तरी सिमा क्षेत्रमा रहेका डोल्पोबुद्ध, छार्काताङसोङ्ग र शे–फोक्सुण्डो गाउँपालिका रहेका धो स्वास्थ्य चौकी, फोक्सुण्डो स्वास्थ्य चौकी, छार्का स्वास्थ्य चौकी, भिजेर स्वास्थ्य चौकी र साल्दाङ्ग स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराई स्वास्थ्य संस्थामै आएर ०७६ साउन यता सुत्केरी भएका ४५ जना सुत्केरीहरूले सुत्केरी प्रोत्साहन भत्ता नपाएको गुनासो रहेको छ ।
दुनैमा रहेको जिल्ला अस्पताल, डोल्पामा समेत सुत्केरी गराएका २० जना महिलाले भत्ता नपाएको डाक्टर सिजन रावलले बताउनु भयो । त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका त्रिपुराकोट स्वास्थ्य चौकी, पहाडा स्वास्थ्य चौकी, सुउँ स्वास्थ्य चौकी, लिकु स्वास्थ्य चौकी, मुड्केचुला र जगदुल्ला गाउँपालिकामा रहेका काइगाउँ, इल, झयाकोट, कालिका, सर्मि र नर्कु स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउने ६० बढी सुत्केरी महिलाहरूले सुत्केरी प्रोत्साहन भत्ता पाउन नसकेको सम्बन्धित स्वास्थ्य चौकीका इन्चार्जहरूले जानकारी दिनुभएको छ ।
त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज तुलबहादुर श्रेष्ठले नियमित गर्भ जाँच गराइ स्वास्थ्य चौकीमै आएर सुत्केरी गराएका २५ जना महिलाले भत्ता पाउन नसकेको बताउनु भयो ।
भत्ताका लागि नगरपालिकामा बारम्बार ताकेता गरिरहेको र अब छिटै नै रकम निकासा हुने जवाफ नगरपालिकाबाट प्राप्त गरेको इन्चार्ज श्रेष्ठले बताउनु भयो ।
गर्भवती महिला र बालमृत्युदरलाई न्युनीकरण गराउने उद्देश्यले स्वास्थ्य चौकीमा आएर सुरक्षित सुत्केरी गराउन महिलालाई सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउदै आएको छ ।
डोल्पा लगायतका हिमाली जिल्लाका गर्भवती महिलाले चारपटक सम्म स्वास्थ्य जाँच गराई स्वास्थ्य चौकीमै गएर सुरक्षित सुत्केरी गराएमा यातायात खर्च वापत ३ हजार रुपियाँ र स्वास्थ्य परिक्षण वापत ८ सय गरेर ३ हजार ८ सय रुपियाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने ब्यवस्था छ ।
जिल्ला अस्पताल दुनैका डाक्टर सिजन रावलले आर्थिक ब्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा गएपछि सुत्केरी महिलाले भत्ता पाउन नसकेको बताँउदै यसले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउने महिलाहरूलाई निरास बनाएको प्रतिक्रिया दिनुभयो ।
त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त कार्यकारी हिराचन्द्र धरालाले स्वास्थ्य चौकीहरूमा सुत्केरी गराउने सबैको विवरण सम्बन्धित स्वास्थ्य संस्थाबाट झिकाई निकासाको अन्तिम तयारी भइरहेकोले एक साता भित्रमा सबैले सुत्केरी महिलाले प्रोत्साहन स्वरूपको भत्ता पाउने जानकारी दिनुभयो ।


विष्णु देवकोटा