६ महिना देखि २ हजार ५ सयभन्दा बढी नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

  ०७६ वैशाख १८ गते

बनगाड कुपिण्डे नगरपालिकामा विगत ६ महिना यता सामाजिक सुरक्षा भत्ता वितरण नगरिँदा लक्षित वर्ग समस्यामा परेका छन् ।

विगत ६ महिना यता भत्ता नपाएपछि निकै समस्या परेको बनगाड कुपिण्डे नपा–५ चिउराका ८० वर्षीय पुरणसिं नेपालीले दुखेसो पोखे ।

बुढेसकालमा त्यही भत्ताले जीवन यापन गर्दै आएको बताउँदै उनले भने–‘यस पटक भने भत्ता नपाउँदा घरखर्च चलाउन गार्‍ह्रो भइरहेको छ । सरकारले हामी ज्येष्ठ नागरिकलाई सहज होस भनेर केही पैसा दिने गरेको थियो ।’–उनले थपे–‘महिनामा २ हजार रुपियाँका दरले पाउँदै आएको भत्ता ६ महिना हुँदासम्म पनि पाइएन् गोजीमा आउने त्यही पैसा पनि नआउँदा कठिनाई परेको छ ।’

बनगाड कुपिण्डे नगरपालिका–४ चिउराकीविरमीकुमारी कामीको पीडा पनि उस्तै छ । ‘बुढेसकालमा अन्यत्र कतैबाट पनि पैसा आउने ठाउँ छैन । आफूले कमाउन सकिँदैन । त्यही भत्ताले घरमा आवश्यक काम टार्ने गरेका थियौँ । तर, अहिले यति लामो समयसम्म पनि रकम नपाउँदा समस्या परेको छ ।’–उनले भनिन् ।’

सोही नगरपालिका–५ राउँचेका अपाङ्गता भएका ठाकुर बुढाथोकीले पनि मासिक ६ सय रुपियाँका दरले पाउँदै आएको रकम नपाउँदा सास्ती भोग्नु परेको छ । आफूलाई आवश्यक पर्ने सामानहरू खरिद गर्न कठिन भएको बताए ।

नगरपालिका भित्रका २ हजार ९ सय ७३ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएकोमा यस आर्थिक वर्षको कात्तिक महिनादेखि रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ ।

‘कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि रकम निकासा गर्न रोकिएको थियो ।’–नगर प्रमुख गोविन्दकुमार पुनले भने–‘अब नयाँ प्रशासकीय अधिकृत आउनु भएको छ । केही दिन भित्रै सबैलाई सामाजिक सुरक्षा भत्ताको रकम उपलब्ध गराउँछौँ  ।’

गत आर्थिक वर्षमा ७ सय ५८ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक, ५ सय ४७ जना अन्य ज्येष्ठ नागरिक, ८ सय ४९ जना एकल महिला, ४५ जना पुर्ण अपाङ्ग, ६४ जना आंशिक अपाङ्ग, ७ सय १० जना  दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सचिव बालाराम बास्तोलाले जानकारी दिए ।

८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई मासिक २ हजार रुपियाँ, अन्य ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपियाँ, एकल महिलालाई मासिक १ हजार रुपियाँ, पुर्ण अपाङ्गलाई मासिक २ हजार रुपियाँ, दलित बालबालिकालाई मासिक ४ हजार रुपियाँ, आंशिक अपाङ्गलाई ६ सय र ३ सय रुपियाँका दरले रकम वितरण गरिँदै आएको उनको भनाई छ ।


मीना बुढाथोकी