६ महिनादेखि चामल वितरण नभएको भन्दै जिल्ला प्रसाशन कार्यालयको ध्यानाकर्षण

  ०७४ पुस ११ गते

६ महिनादेखि खाद्य संस्थानले कर्मचारीलाई चामल नदिएपछि सरकारी तथा गैर सरकारी कार्यालयद्वारा पुस ११ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण गराउने सरकारी कार्यालयमा जिल्ला वन, स्वास्थ्य, मालपोत, अदालत, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला समन्वय समिति, सरकारी वकिल, शिक्षा, पशु, कृषि, महिला तथा बालबालिका कार्यालय रहेका छन् । यसैगरी गैरसरकारी संस्थातर्फ किर्डाक नेपाल, महिला कल्याण र एसआईडिसीलगायतका कार्यालयमा कार्यरत कर्मचारीले चामल नपाएपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

हुम्लामा साउन महिनादेखि कर्मचारीको कोटा भाग र व्यापारीको कुपन कार्डको चामल वितरण नभएपछि कार्यालयका कर्मचारीले सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलासमक्ष पुस ११ गते अनुरोध गरेका हुन् ।

साउन महिनादेखि कहिलेकँही स्थानीयबासीलाई वडा भाग र प्रमुख जिल्ला अधिकारीको चिटमार्फत चामल वितरण गरेपनि कर्मचारीले भने चामल नपाएको गुनासो गरेका छन् । प्रतिनिधि तथा प्रदेश सभाको सदस्यमा निर्वाचित भएका माननीय संसदले मङ्सिर महिनामा १० केजी चामल वितरण गरेकोमा यसमा पनि अनियमितता भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

'पहुँचवाला व्यक्तिले चामल पाए तर हामीले पाएनौँ ।'- सिमकोट गाउँपालिका-५ का हरिबहादुर रावतले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाका अनुसार चामलको ढुवानीको प्रक्रिया चलाइएको र खाद्य गोदाममा चामल आउने बित्तिकै कर्मचारी र व्यापारीको चामल ढुक्कसँग वितरण गरिनेछ ।


नन्द सिंह