६३ जना कैदीबन्दीका लागि एउटा धारो, दिन बिराएर आउने पानी अपुग

  ०७६ कात्तिक २२ गते

जिल्ला कारागार ओखलढुङ्गामा पानीको अभाव हुँदा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा कैदीबन्दीलाई खानेपानीसहित दैनिकीका लागि आवश्यक पानीको अभाव छ ।

क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको कारागारमा खानेपानी र शौचालयको समस्या रहेको कारागारका नाइके नवराज बस्नेतले बताए ।

कैदीबन्दीलाई पिउन र अन्य कार्यका लागि आवश्यक पानी नहुँदा शौच गर्नमा समेत समस्या भएको प्रति कैदीबन्दीले दुःखमन गरेका छन् । उनीहरूले पानीको समस्या समाधान गरीदिन कारागार प्रशासनसँग आग्रह गरेका छन् ।

वि.स. २०४५ सालमा निर्माण गरिएको २५ जना क्षमताको कारागारमा ६३ जना कैदीबन्दी छन् । ०७२ को भूकम्पले जीर्ण बनेको कारागारको पुनर्निर्माण समेत हुन सकेको छैन ।

कारागारमा जडान गरिएको खानेपानी व्यक्तिगत धारा सरह जोडिएकाले पानीको माग धान्न नसकेको हो । एक परिवारका लागि दिइने बराबरको पानीले कारागारमा ६३ जनालाई खाना पकाउन, सरसफाई गर्न र पिउनका लागि पु¥याउनु पर्ने बाध्यता रहेको नाइके बस्नेतको भनाई छ ।

पानी नहुँदा शौच गर्न समेत कठिन हुने भएकाले समस्या समाधान गरिदिन उनले अनुरोध गरे । इन्सेक प्रतिनिधिसँगको भेटमा कैदीबन्दीले पानी अभाव भएको, धेरैजना भएकाले शौच गर्न घण्टौ पालो कुर्नु पर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कारागारको पुरूष वार्डमा दुई ओटा शौचालय भए पनि पानी नहुँदा समस्या छ ।

ओखलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपलब्ध गराएको पानी दिन बिराएर आउने र लोडसेडिङ हुने भएकाले पानी अभाव भएको हो ।

कारागारमा नियमित पानी आउने व्यवस्था गर्नुपर्ने कैदीबन्दीको माग रहेको छ । कारागारमा पानीको समस्याका वारेमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खानेपानी उपभोक्ता समितिसँग बसेर छलफल गर्ने बताए । कारागारको खाना पकाउने भान्छा तथा सुत्ने स्थान भने मर्मत गरेर सुधार गरिएको छ ।


शिवप्रसाद ढुङ्गाना