६२ वर्षीय ज्येष्ठ नागरिकको हत्या, आरोपित पत्नी र छोरा फरार

  ०७६ असोज २० गते

महादेवा गाउँपालिका–१ पकरीका ६२ वर्षीय मो. गफुर पमरियालाई ५० वर्षीया पत्नी जमुनी खातुन र २३ वर्षीय छोरा नइम पमरियाले हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालयमा असोज २० गते उजुरी दिएका छन् ।

मदिराको सुरमा कुटपिट गरी गफुरको हत्या पछि नइम र जमुनी फरार रहेकाले हत्यामा दुवैको संलग्नता रहेको गाउँलेहरूले आशङ्का गरेका छन् ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति पनि बुबासँग झगडा गरी कुटपिट गरेको छिमेकी फुल मोहम्मदले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका गफुरलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएपछि मृतकका जेठा छोरा २५ वर्षीय मो. हकिम पमरिया समेत भागेको अटोरिक्सा चालक महादेवा गाउँपालिका–३ बथनाहाका वीरेन्द्रकुमार यादवले बताए ।

प्रहरीले सोधपुछका लागि हकिमलाई असोज २० गते अनुसन्धानका लागि गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखेको एसपी कृष्ण प्रसाईले बताए ।

शवको पोष्टमार्टका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । स्थानीय जिवछ पमरियाका अनुसार झगडालु स्वभावका नइमकै कारण उनकी पत्नी लेल्ही खातुन एक साता अघि र भाउजु चाँदनी खातुन चार महिनादेखि माइत विस्थापित छन् ।


मनोहरकुमार पोखरेल