४ हजार घरधुरी शुद्ध र सुरक्षित पिउने पानीबाट वञ्चित

  ०७३ असोज १९ गते

रोल्पा जिल्लाका ४ हजार ३ सय ८३ घरधुरीले शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ४४ हजार ५ सय घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा पुगेको भएपनि बाँकी घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा नपुगेको हो ।

जिल्लामा ०२० सालमा बनेका योजना हालसम्म मर्मतसम्भार हुन नसकेको जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका सूचना अधिकारी डिल्लीराज न्यौपानेले बताए । 'मर्मतका लागि निकै कम मात्र बजेट आउने हुँदा धेरै योजना लथालिङ्ग अवस्थामा छन् ।'-न्यौपानेले भने । सन् २०१७ भित्र सम्पूर्ण नागरिकलाई आधारभूत पिउने पानी र सरसफाईको सुविधा पुर्‍याउने सरकारको योजना छ ।

सरकारी तथ्याङ्कमा रोल्पाका करिव ९० प्रतिशत घरधुरीमा पिउने पानीको पहुँच पुगेको भनिएपनि खानेपानी योजना निकै पुराना रहेका कारण जिल्लाका धेरैजसो घरधुरी सुरक्षित पिउने पानी उपयोगबाट वञ्चित रहेको खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ ।


माधवकुमार ओली