३८ दिन देखिको निरन्तर आन्दोलन जारी, दैनिक उपभोग्य वस्तुको अभाव

  ०७४ माघ ८ गते

प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै गरिएको ३८ दिनदेखिको आन्दोलनका कारण धनकुटामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने जनजीवन प्रभावित बनेको छ ।

चरणबद्ध रूपमा चल्दै आएको आन्दोलनका कारण दैनिक उपभोग्य वस्तुको बाहिरबाट आपूर्ति हुन नसक्दा अहिले बजारमा ग्याँस, पेट्रोल, चामल, सागसब्जीलगायतका उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।

सरकारले माघ ३ गते प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकेपछि धनकुटाबासीको आन्दोलन अझ सशक्त बन्दै आएको छ । जसको प्रत्यक्ष मारमा सर्वसाधारण नागरिक पर्दै आएका छन् ।

विराटनगरलाई अस्थायी राजधानी तोकिएसँगै धनकुटामा चल्दै आएको आन्दोलनले हिंसात्मक रूप लिएपछि जिल्लाको जनजीवन थप कष्टकर बन्दै आएको हो । बजार, पसल, यातायात ठप्प छ ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले माघ ४ गतेदेखि लगाएको निषेधाज्ञा माघ ८ गते दिउँसो ३ बजेदेखि माघ ९ गते बिहान ७ बजेसम्मलाई हटाएको छ । तर, आन्दोलनरत पक्षले आफ्नो आन्दोलनको कार्यक्रम जारी राखेकाले बजार, पसल, यातायात, शैक्षिक संस्था पूर्ण रूपमा बन्द रहेका छन् ।

स्कर्टिङमा राति सवारीसाधनहरू सञ्चालन भएपनि दिनभरी बन्द हुँदा सर्वसाधारण नागरिकहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच पटकपटक वार्ता भएपनि वार्ता निष्कर्षमा नपुग्दा जनजीवन सामान्य बनेको छैन ।

जनजीवन कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनले सर्वसाधारणको हितलाई मध्यनजर गर्दै निषेधाज्ञा १६ घण्टाको लागि फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

अहिलेको आन्दोलन कुनै पार्टी तथा जाति विशेषको नभएर सिङ्गो धनकुटाको प्रतिष्ठाको विषय भएकाले आन्दोलनको स्वरूप फेरिएपनि माग पुरा नभएसम्म आन्दोलन स्थगित नगर्ने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।


सन्तोष रुचाल