३५ मुक्त हलिया परिवारलार्ई घर हस्तान्तरण

  ०७६ माघ ५ गते

सरकारले भीमदत्त नगरपालिका– १९ बागफाँटामा एकीकृत मुक्त हलिया बस्ती निर्माण गरी ३५ मुक्त हलिया परिवारलाई घर हस्तान्तरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माघ ४ गते मुक्त हलिया परिवारलाई उक्त बस्ती हस्तान्तरण गर्नु भएको हो ।

बाजागाजा साथ आयोजित एक कार्यक्रममा एकीकृत मुक्त हलिया बस्तीका ज्येष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको ताला खोलेर मन्त्री अर्यालले उहाँलाई गृह प्रवेश गराउनु भएको थियो  ।

सरकारले नै मुक्त हलियाहरूका लागि घर निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरेको यो पहिलो पटक हो ।

बस्ती हस्तान्तरण गर्दै मन्त्री अर्यालले कसैलाई पनि भूमिहीन र सुकुम्बासी हुन नदिने अभियानमा सरकार अगाडि बढेको बताउनु भयो ।

उहाँले भन्नु भयो, “देशभरका भूमिहीन र सुकुम्बासीको समस्या यही सरकारले समाधान गर्छ ।  मुक्त हलियाको तथ्याङ्क सङ्कलनका क्रममा केही छुट हुन गएको गुनासो आएको छ । छुट मुक्त हलियाहरूको समस्यालाई पनि सम्बोधन गरिने छ । ”

राज्यले दिने जग्गामा महिला र पुरूष दुवैको संयुक्त स्वामित्व स्थापित हुने गरी सुकुम्बासी, मुक्त हलियालाई सयुक्त लालपुर्जा दिइने मन्त्री अर्यालले बताउनु भयो ।

कञ्चनपुर जिल्लामा २ हजार ७ सय परिवार मुक्त हलिया रहेकोमा १ हजार ७ सय ८५ मुक्त हलिया परिवारको गत वर्ष पुनस्र्थापना गरिएको थियो ।

सरकारले ०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरे पनि मुक्त हलियाहरु हालसम्म पुनस्र्थापना भने हुन सकेको छैन  ।

photo 20200119kanchanpur 1 photo 20200119kanchanpur 2 photo 20200119kanchanpur

 


कोमलनिरन्जन भाट