१९ वर्षीया युवती मृत अवस्थामा फेला, हत्याको आशङ्का

  ०७६ जेठ २ गते

गैडहवा गाउँपालिका–१ भुझौली की १९ वर्षीया सवनाम निशा जेठ १ गते मृत अवस्थामा भेटिएकी छन् । सवनमको हत्या गरिएको परिवारले आशङ्का गरेको छ ।

वैशाख ३१ गते खाना खाएर कोठामा सुतेकी छोरीलाई आमाले राति कोठामा नदेखेपछि घरपरिवारले खोजी गर्दै जाँदा जेठ १ गते गाउँ नजिकैको सुख्खा कुलोमा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय सुर्यपुराका इन्स्पेक्टर जीवलाल चुँदालीका अनुसार मृतकको मुखबाट रातो कालो मिश्रित रगत बगेको र शरीरमा बाहिरी घाउचोट नदेखिएको, लुगा र चुरा राम्रै आवस्थामा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका एसपी हृदय थापाले घटना शङ्कास्पद भएकोले अनुसन्धान भइरहेको र शवको  पोष्टमार्टमका रिपोर्ट प्राप्त भएपछि थप तथ्य खुल्ने बताउँदै घटनामा संलग्न जो कोही भएपनि उम्कन नपाउने बताए ।

मृतकका बुबा महोम्मद हिसाहारले छोरीको बिहे जेठ महिनामा तय गरिएको र छोरीको हत्या गरेर फालिएकोले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीका लागि सहयोग गर्न सञ्चारकर्मी तथा मानव अधिकारकर्मीलाई आग्रह गरे ।

शव पोष्टमार्टमका लागि जेठ १ गते नै त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.