१६ दिनदेखि हराइएकी एकल महिलाको हत्या गरिएको अवस्थामा शव फेला

  ०७५ भदौ ९ गते

गोलबजार नपा–१० की ५५ वर्षीया एकल महिला कारीदेवी यादवको हत्या गरी गाडिएको अवस्थामा भदौ ९ गते शव फेला परेको छ ।

नरहा गाउँपालिका–१ स्थित बोरामा गाडिएको अवस्थामा स्थानीयहरूले उनको शव फेला पारेका हुन् । साउन २५ गते रातिदेखि कारीदेवी हराइरहेकी थिइन् ।

२२ वर्षअघि पतिको मृत्यु भइसकेको र उनको सन्तान कोही नभएको कारीदेवी यादव एकल महिला हुन् । जेठाजु रामदेव यादवको परिवारले खान लाउन नदिने, कुटपिट गर्ने र घरेलु हिंसा गर्ने गरेको आरोप लगाउँदै यादव परिवारबाट अलग्गै झुपडीमा बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवनकुमार श्रेष्ठका अनुसार महिला हराएको सूचना उनका परिवारले साउन २७ गते गराएको आधारमा खोजतइास भइरहेको थियो ।

कारीको जेठाजु ६१ वर्षीय रामदेव यादवसँग अंश मुद्दा चलेको अवस्थामा उनले र उनका छोरा ३१ वर्षीय लक्ष्मण यादवले अरूको सहयोगमा अपहरण गरेको आरोपमा भदौ ५ गते नै गिरफ्तार गरी अनुसन्धान गरिरहेको अवस्थामा शव नै फेला परेकोले अनुसन्धान गर्न सजिलो हुने प्रहरीले जनायो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको एसपी श्रेष्ठले जानकारी दिए ।


दुर्गा परियार