१५ महिनादेखि दलित बालबालिकाले पोषण भत्ता पाएनन्

  ०७५ कात्तिक ९ गते

नरहा गाउँपालिका क्षेत्रका दलित बालबालिकाले पछिल्लो आर्थिक वर्ष ०७४ र ०७५ को बाल पोषण भत्ता पाएका छैनन् ।

यस आर्थिक वर्षको असोजसम्म तीन महिना बित्दा समेत पुरानै आर्थिक वर्षको बाल पोषण भत्ता समेत नपाएको अभिभावकले बताएका छन् ।

आर्थिक रूपले विपन्न दलित बालबालिकालाई पोषिलो आहारका लागि राज्यले मासिक रूपमा राहत स्वरूप दिँदै आएको बालपोषण भत्ता रकम १५ महिनासम्म नपाएको उनीहरूले गुनासो गरे ।

नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झाले पछिल्लो आर्थिक वर्षको जेठमा बाल पोषणको अन्तिम चौमासिक रकम आएको भएपनि बैङ्किङ् प्रणालीमा जानै पर्ने बाध्यताले रकम बाँड्न नसकिएको बताए ।

‘राज्यले सामाजिक सुरक्षा भत्ता वापत् दिने रकम बैङ्क खातामार्फत वितरण गर्ने नीति ल्याएपछि अभिभावकको संरक्षकत्वमा पाँच वर्ष मुनिका सबै बालबालिकाको खाता खोल्न भन्यौँ ।’–प्रमुख प्रशासकीय झाले भने–‘गाउँपालिकाको पाँच वडामध्ये १ नं. बाहेक अन्य वडामा खाता नखोलिँदा समस्या भयो ।’

‘बैङ्क खाता नभएपनि बालबालिकाको रकम नरोकियोस् भन्ने उद्देश्यले वडा सचिवलाई पेश्की उठाएर वितरण गर्न आग्रह ग¥यौँ ।’–प्रमुख प्रशासकीय अधिकृत झाले भने–‘वडा सचिवले पेश्की लिन नमानेपछि बाल पोषणको रकम गाउँपालिकाको एनआइसी एशिया बैङ्कको खातामै रहेको छ ।’

पटकपटक पोषण भत्ता लिन सूचना जारी गरे पनि अभिभावकहरूले बैङ्कमा खाता खोल्न चासो नलिएको अधिकृत झाले बताए ।

नरहा गाउँपालिकाका सूचना अधिकारी कुमोदकुमार यादवले नरहा गाउँपालिकामा वडा–१ मा २ सय २२, वडा–२ मा ७४, वडा–३ मा १ सय ६२, वडा–४ मा १ सय ७१ र वडा–५ ८० जना गरी ७ सय ९ जना दलित बालबालिकाको रकम र सामाजिक सुरक्षा भत्ताको रकम गरी २ करोड ३८ लाख रुपियाँ गत आर्थिक वर्षमा आएको र यस आर्थिक वर्षमा पनि २ करोड ५४ लाख रुपियाँ रकम आएको सूचना अधिकारी यादवले बताए ।

सामाजिक सुरक्षाको रकम वितरण भएपनि पोषण भत्ताको रकम बैङ्कमा खाता नखोलिएकोले वितरण नभएको यादवले जानकारी दिए । हरेक दलित दम्पतीको बढीमा दुई जना पाँच वर्ष मुनिका बालबालिकाले जनही मासिक ४ सय रुपियाँका दरले बाल पोषण आहार बापतको रकम दिने नीति छ ।


दुर्गा परियार