१३ वर्षीय बालक नौ वर्षदेखि बाख्रा खोरमा !

  ०७५ कात्तिक २० गते

शैलुङ गाउँपालिका–८ शैलुङ्गेश्वर चिलाउनेखर्कका १३ वर्षीय बालक सुब्बा तामाङ शारीरिक अपाङ्गता भएका कारण आफ्नै परिवारले घरमा बाख्राका लागि बनाइएको खोरमा विगत नौ वर्षदेखि दाम्लोमा बाँधिएर बस्न बाध्य छन् ।

शारीरिक रूपमा अपाङ्गता भएका उनी घर नजिकै बाख्रा बाँध्नका लागी बनाइएको जस्ताको खोरमा बाँधिएका हुन् । २०६२ साल जेठ ७ गते जेठो छोराको रूपमा जन्मिएको सुब्बा ०६६ सालमा एक्कासी बिरामी भई अहिले शरीरका अङ्ग केही पनि नचल्ने भएपछि जन्मिएको चार वर्षदेखि उनलाई खोरमा दाम्लोमा बाँधिएर राख्नु परेको परिवारले जनाएको छ ।

आमा शान्तिमाया तामाङ भन्छिन्–‘धेरै धामी झाँक्री र अस्पताल लगे पनि ठिक नभएपछि सुब्बालाई चार वर्षको हुँदादेखि हालसम्म डोरी बनाएर खोरमा बाँधेर राख्ने गरेका छौँ ।’ त्यसो त सुब्बालाई आफू दाम्लोमा बाँधिएको छु भन्ने कुनै पत्तो छैन । न त उनी दिसापिसाव आयो भन्न सक्छन् न त कसैसँग दोहोरो कुराकानी गर्न नै ! १३ वर्षका छोरालाई घरमा एक्लै दाम्लोमा बाँधेर राख्न कुन अभिभावकको मनले मान्दो होला र ? तर पनि तमाङको परिवारलाई यसरी बाँधेर राख्नु पर्ने बाध्यता छ । सुब्बालाई खुल्ला छाडेर राख्नै सकिँदैन ।

‘एकछिन छोडिदियो भने कुदेर कता पुग्छ कता ? घर फर्कन जान्दैन, कुन ठाउँमा पुगेको छु भनेर केही थाहा पाउँदैन । कसैसँग दोहोरो कुराकानी गर्न सक्दैन ।’–आमाले भनिन्–‘घर नजिकै एकातर्फ वन छ । अर्कोतर्फ भीर छ । छोडिदिउँ भने लडेर मर्ला भन्ने डरले घरमा बाँधेर राख्नुपरेको हो ।’

‘घरमा कोही एकजना हेर्ने मान्छे मात्र भएको बेलामा खुल्ला छोडिदिए पनि मेलापात गर्न जाँदा र घर छोडेर जाँदा बाख्रासँगै खोरमा बाँधेर जाने गरेका छौँ ।’–आमाले भनिन् । उपचारका लागि परिवारले सक्दो प्रयास पनि गरेका छन् । आफुसँग उपचार गर्ने पैसा नहुँदापनि ऋण गरेर पनि उपचार गराएको भएपनि निको नभएपछि तमाङको परिवार चिन्तामा परेका छन् ।

सुब्बाको आमा शान्तिमायाले भनिन्–‘हाम्रो आम्दानी र कमाइको कुनै स्थायी स्रोत छैन । श्रीमान मजदुरी गर्नु हुन्छ । त्यो कमाइ नुन तेलमै ठिक्क हुन्छ । खेतबारी पनि धेरै छैन । आफन्त र छिमेकीसँग ऋण र सापटी लिएर नै उपचारमै खर्च गरिसक्यौँ । तर, पनि छोरालाई निको पार्न सकिएन ।’

आफ्नो हैसियत अनुसाार अस्पतालको औषधि र उपचारले केही प्रगति नभएपछि थाहा पाए जतिको देवी देउताको मन्दिरमा लगेर भाकल सहित पुजा पाठपनि गरिसकेको शान्तिमायाले बताइन् ।

‘घरमै बाँधेर राख्नुभन्दा त बरू यस्तै बालबच्चाहरू राख्ने ठाउँ भए त्यतै लगेर राख्ने थियौँ ।’–शान्तिले भनिन्–‘छोरालाई आफ्नै हातले खोरमा बाँधेर यताउती हिँड्नु पर्दा कम्ता नरमाइलो लाग्दैन । के गर्नु बाध्यता छ ? कुनै त्यस्तो सङ्घसंस्था र विद्यालय भएमा त्यतै लगेर राख्ने विचार छ तर आफूहरूलाई त्यो बारेमा केही थाहा छैन ।’

छोराको अपाङ्गता परिचयपत्र बनाउनको लागि सरदमुकाम चरीकोटसम्म बोकेर ल्यायौँ अनि कार्ड पनि बनायौँ तर त्यो बनेको कार्ड पहेँलो भएकाले सरकारबाट पाउने सेवा सुविधा केही पनि नपाएको परिवारले गुनासो गरेको छ ।


उद्धव पोखरेल