१३ लाख किशोरीहरू बालविवाहको जोखिममा

  २०७६ पुस २२ गते

नेपालमा १३ लाख किशोरीहरू बालविवाहको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले २०७६ पुस २१ गते यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । ‘नेपालमा बाल अधिकारको अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले यस्तो जोखिम औँल्याएको हो । यसले मानव बेचबिखन र बाल विवाहका कारण किशोरीहरू उच्च जोखिममा रहेको देखाएको छ । आयोगले केन्द्रीय तथ्याङ्क विभागको पपुलेसन मोनोग्राफ सन् २०१४ भाग २ अनुसार १० देखि १८ वर्ष उमेर समूहका बालबालिका मध्ये २६ दशमलब ३ प्रतिशतको विवाह भएको औँल्याएको छ ।

82773542_576961493148812_7411504967384563712_n (1)

दक्षिण एशियामा बालविवाह बढी हुने मुलुकमध्ये बंगलादेश र भारतपछि नेपाल तेस्रोमा छ भने २६ प्रतिशत बालिकाहरू बेचबिखनमा परेको प्रतिवेदनमा उल्लेख गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माका अनुसार परिवारबाट नै बालबालिकाहरू माथि विभेद रहेको छ । शिक्षा दिने कुरामा नै आमाबुवाले छोरा र छोरीबीच विभेद गर्ने गरेको पाइएको अध्यक्ष शर्माले बताउनुभयो ।

“छोरीलाई सरकारी र छोरालाई निजी स्कुल पढाउने चलन अहिले पनि रहेको पाइन्छ ।” अध्यक्ष शर्माले भन्नुभयो “वंशज भनेको बाबुबाट मात्रै सुरु हुन्छ आमाको हुँदैन भन्ने कुरा अहिले पनि रहेको छ ।”

विवाहका लागि महिलाभन्दा पुरुषको उमेर बढी हुनुपर्ने सामाजिक, साँस्कृतिक मान्यताले बालविवाहमा कमी आउन नसकेको आयोगकी सदस्य मोहना अन्सारीले बताउनुभयो । लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारण बलविवाहको मुख्य कारण भएको उल्लेख गर्दै सदस्य अन्सारीले विवाहका लागि पुरुषभन्दा महिलाको उमेर कम हुनुपर्ने सामाजिक मान्यता बालविवाहको अर्को कारक भएको बताउनुभयो ।

अझैं ८३ प्रतिशत छात्राले महिनावारी भएका बेला स्यानेटरी प्याडसमेत नपाउने आयोगकी उपनिर्देशक मञ्जु खतिवडाले बताउनुभयो ।

नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०११ ले मुलुकमा २० देखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्नु अगावै भएको उल्लेख छ । आयोगको अध्ययन प्रतिवेदनले जवरजस्ती करणीमा परेका पीडितहरूमध्ये जनजाती र दलित समुदायका धेरै रहेको देखाएको छ । पीडकहरूमध्ये ३० प्रतिशत जनजाती पीडक रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

बालबालिका खोजतलास केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा दुईहजार चारसय ८१ जना बालबालिका हराएकोमा एकहजार एकसय २४ जना मात्रै फेला परेका छन् । फेला नपरेका एकहजार दुईसय ५७ मध्ये अधिकांश बालबालिका बेचबिखत तथा जबरजस्ती श्रम गर्न बाध्य भएको हुन सक्ने आयोगले औँल्याएको छ ।

गएको आर्थिक वर्षमा तीनहजार तीनसय ३१ जनालाई भारतीय सीमा नाकाबाट फर्काइएकोमा ४६ प्रतिशत महिला र १४ प्रतिशत बालबालिकाहरू रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

२०६८ को जनगणना अनुसार ४१ दशमलब ८२ प्रतिशत बालबालिका १८ वर्षभन्दाकम उमेरका छन् भने कूल जनसंख्याको ४९ प्रतिशत जनसंख्या बालबालिका छन् ।

प्रतिवेदनमा अशिक्षा, गरिबी र कुपोषणबाट बालबालिका उच्च जोखिममा रहेको समेत उल्लेख छ । ५ वर्ष भन्दा कम उमेरका बालिका २८ प्रतिशत र कम उचाई हुने बालिका ३९ दशमलब ५० प्रतिशत छन् । नेपालमा ११ लाख बालबालिका कुपोषणको सिकार भएका छन् । दूईलाख ९० हजार ख्याउटे, १३ लाख बालबालिकामा भिटामिन ए, आइरन जस्ता पोषक तत्वको कमी छ ।

81702228_622685445171499_4508125281654931456_n

केन्द्रीय तथ्यांक विभागबाट सम्पादन गरिएको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण, २०७१ अनुसार ५ देखि १७ वर्ष उमेर समूहका ३७ दशमलब ४ प्रतिशत बालबालिका बाल श्रममा संलग्न छन् ।

मुलुकभरका २८ प्रतिशत विद्यालयमा मात्रै छात्रछात्राका लागि छुट्टै शौचालय रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।


दीपकप्रसाद घिमिरे