१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार

  ०७६ कात्तिक १ गते

संविधान सभाको २०६४ चैत २७ गते पहिलो निर्वाचनको एक रात अगाडि रौतहटको राजपुरमा भएको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले ०७६ असोज २६ गते नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मो. आफताव आलमलाई गिरफ्तार गरेपछि न्याय पाउने आशा पुनर्जागृत भएको पीडित परिवारले बताएका छन् ।

गिरफ्तार परेका नेता आलमलाई असोज २८ गते अदालतमा म्याद थपका लागि हाजिर गराइयो र अदालतले असोज २६ गतेदेखि लागु हुने गरी सात दिनका लागि अनुसन्धान गर्न म्याद थप गरेको छ ।

आलमको गिरफ्तारी र म्याद थप भएपछि घटनाका पीडित परिवार सार्वजनिक हुन थालेका छन् ।

उनीहरूले ढिलै भएपनि न्याय पाउने आशा पुनर्जागृत भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका हुन् ।

बमकाण्डको १२ वर्ष पछि रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद तथा पूर्व मन्त्री मो. आलमलाई प्रहरीले गिरफ्तार गरेपछि पीडित परिवारलाई न्याय पाउने आशा पलाएको हो ।

न्यायको आशामा बसेका परिवारमध्ये एक हुन श्रीनारायण सिंह । सरुअठाको घरमै बसी रहेका आफ्ना छोरा त्रिलोकप्रताप सिंहलाई चुनाव प्रचारप्रसारका लागि जाउँ भन्दैै चैत १८ गते बोलाउन आएको श्रीनारायण सिंहले बताए ।

एक साता अगाडि चुनावी प्रचारमा हिँडेका त्रिलोकप्रताप सिंह र बसीअख्तर मियाँ बम बनाइरहेको स्थानमा घाइते अवस्थामै उपचारका लागि लाने भन्दै नजिकैको इट्टा बनाउने चिम्नी भट्टामा लगेर जलाइएको आरोपसहित श्रीनारायण सिंहले आलमविरुद्ध उजुरी दिएका थिए ।

उजुरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षीय श्रीनारायण सिंहले घटनाको १२ वर्ष पछि न्याय पाउने आश पलाएको बताए ।

सिंह भन्छन्–“घटना लगत्तै उनले किटानी उजुरी दिन खोज्दा तत्कालिन एसपी लक्ष्मण न्यौपानेले मुद्दा दर्ताको निवेदननै लिन मानेनन् त्यसपछि हामी सर्वोच्च अदालतको शरणमा गएको उनले बताए ।”

आफताव आलमको घर नजिकैको सो स्थानमा विष्फोट हुँदा केही व्यक्तिहरू घाइते भएका थिए ।

विष्फोटमा परी कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको एकिन भएको थिएन ।

तर, सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय बसी अख्तर मियाँको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मो.आफताव आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी उजुरी दिएका थिए ।

असोज २६ गते पूर्वमन्त्री आलम गिरफ्तार परेको खबर सुनेपछि श्रीनारायण सिंहले सुरुमा विश्वास नै नलागेको बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले नेपाली कांग्रेसका नेता, पुर्व मन्त्री तथा रौतहट क्षेत्र नं. २ का सांसद आलम गिरफ्तार परेको विरोधमा असोज २६ गते पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रहरीले आलमलाई गिरफ्तार गरेपछि जिल्ला सदरमुकाम गौरमा सभापति कृष्ण यादवले पत्रकार सम्मेलन आयोजना गरी सरकारले सुनुयोजित रुपमा प्रहरी लगाएर आफ्ना पार्टीका नेता गिरफ्तार गरेको आरोप लगाएका छन् ।

सभापति यादवले आफ्ना पार्टीका नेतालाई तत्कालै रिहा नगरे सरकारविरुद्ध रौतहटबाटै कडा आन्दोलनको सुरुआत गर्ने र त्यो सरकारका लागि ठुलो दुर्घटना हुने चेतावनी समेत दिए ।

तत्कालीन राजपुर फरहदवा गाविस वडा नं. ४ स्थित स्व. शेख इद्रिसको खलिहान घरमा ०६४ चैत २७ गते राति भएको बम विष्फोट घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेतृत्वको टोलीले ०६५ वैशाख १७ र १८ गते स्थालगत अध्ययन गरी ०६५ वैशाख २४ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा आलमले आफ्नो चुनाव प्रचारप्रसारमा चैत २० गते श्रीनारायण सिंहका छोरा २२ वर्षीय पिन्ट सिंह भनिने त्रिलोकप्रताप सिंह र जगर मियाँको छोरा २३ वर्षीय बसी अख्तर मियाँ कवाडीलाई लगेको पाइएको उल्लेख छ ।

इद्रिसको खल्यानको घरमा आलमले जम्मा पारी राखेको बम विष्फोट भएको र घटनामा तत्काल तीन जनाको मृत्यु भएको र केही सङ्ख्यामा सहयोगी घाइते भएको र घाइतेहरूलाई पनि मृतकहरूसँगै इँटाको चिम्नीमा जिउँदै फालिएको गुनासो पीडित परिवारबाट सुनिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको थियो–“घटनाको प्रारम्भिक तथ्यका आधारमा सरकारले तत्काल विज्ञहरूको संलग्नतामा उच्च स्तरीय छानविन समिति/आयोग गठन गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्न मानव अधिकारर्मीहरूले माग गर्दछौँ ।

इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचार

कानुनी शासनप्रति आशा जागेको छः इन्सेक

बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित

बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार

 


कोपिला तिमल्सिना