१४ वर्षको अवधिमा छाउगोठमा १३ को मृत्यु, पुनःर्निमाण गरिएका छाउगोठ प्रहरीद्वारा भत्काउन सुरु

  ०७७ माघ ३० गते

छाउगोठमै बसेका कारण अछाममा १४ वर्षको अवधिमा १३ जनाको मृत्यु भएको छ । ०६३ सालदेखि हालसम्मको अवधिमा १३ जना महिला तथा किशोरीको छाउगोठमा मृत्यु भएको हो ।

अछाम जिल्लाका बिभिन्न नगरपालिका र गाउँपालिकामा भत्काइएका छाउगोठ पुर्ननिर्माण हुन थालेपछि प्रहरीले धमाधम छाउगोठ भत्काउन सुरु गरेको छ । अछामका १० वटै स्थानीय तहका ९१ वडामा पुगेर छाउगोठ भत्काउन थालेको जनप्रतिनिधिहरुले बताएका छन् ।

अघिल्लो वर्ष छाउगोठ मुक्त घोषणा गरिएका जिल्लाका १० ओटा स्थानीय तहका ९१ वडामा पुनः छाउगोठ निर्माण गरिएपछि प्रहरीले छाउगोठ भत्काउन सुरु गरेको हो ।

photo20210213achham

हातमा साबेल, घैटी र बेल्चा बोकेर प्रहरी घरघरमा छाउगोठ खोज्दै भत्काउन थालेको तुर्माखाँद गाउँपालिका–५ नाडाका नरेशकुमार शाहीले बताउनु भयो ।

छाउ (महिनावारी) भएका बेलामा महिला तथा किशोरीहरु असुरक्षित रुपमा घरभन्दा टाढा कटेरोमा कष्टपूर्ण रुपमा बस्न सुरु गरपछि छाउगोठ भत्काउन प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनु भयो ।

उहाँले भन्नु भयो “ छाउगोठका रुपमा प्रयोग गरेका छाप्राहरु प्रहरी लाएर भत्काउन थालेका छौँ । कोही छाउगोठमा बसे वा बस्न बाध्य पारेमा कानुन अनुसार कार्वाही गछौंँ ।”

गत वर्ष भत्काइएका छाउगोठहरु पुनःनिर्माण गरी महिनावारी भएका महिला तथा किशोरीहरु छाउगोठमा बस्न थालेपछि भत्काउने अभियान सुरु गरिएको महिला अधिकारकर्मी बिन्दु रावलले बताउनु भयो ।

छाउगोठ भत्काएसँगै महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा घरमा बस्ने, पोषणयुक्त खान पाउने सुनिश्चितता गरिनु पर्ने महिला अधिकारकर्मी मना अधिकारीले बताउनु भयो ।

०७७ पुस ४ गतेदेखि हालसम्म ६ सय छाउगोठ भत्काइएका छन् भने गतवर्षको तीन महिनाको अवधिमा ६ हजार बढी छाउगोठ भत्काइएका थिए । सरकारले छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने व्यक्तिलाई तीन महिना कैद र ३ हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

photo20210212achham (7)

photo20210212achham (6)

photo20210212achham (5)

photo20210212achham (4)

photo20210212achham (3)

photo20210212achham (2)

photo20210212achham (1)


शिवराज ढुङ्गाना