१० स्थानीय तहका ३ हजार ५ सय विद्यार्थी दिवा खाजाबाट वञ्चित

  ०७६ कात्तिक २५ गते

बैतडी जिल्लाका १० ओटा स्थानीय तहका ३ सय १७ प्राथमिक विद्यालयमा अध्ययनरत ३ हजार ५ सय छात्रछात्राहरू ६ महिनादेखि दिवा खाजाबाट वञ्चित भएका छन् ।

नियमित विद्यालय आउन प्रेरण पदान गर्ने उद्देश्यले सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका लागि नेपाल सरकारले गाउँपालिका र नगरपालिकाको खातामा बजेट पठाए पनि उक्त बजेट विद्यालयमा नपठाएपछि विद्यार्थीहरू दिउँसो भोकै बस्न बाध्य भएका हुन् ।

विद्यालयको शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि बैतडीका १० ओटा स्थानीय तहका ३ सय १७ प्राथमिक विद्यालयका ३५ हजार विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका हुन् ।

यसअघि विश्व खाद्य कार्यक्रमले बैतडीका प्राथमिक तहका विद्यालयलाई दिवा खाजाका रूपमा पौष्टिक आहारको पीठो र तेल दिँदै आएको थियो ।

यो वर्षदेखि विश्व खाद्य कार्यक्रमले तेल र पौष्टिक आहारको कार्यक्रमबाट हात झिकेपछि दिवा खाजाको कार्यक्रम नेपाल सरकारले सञ्चालन गर्न स्थानीय तहमा बजेट निकासा दिएको छ ।

चालु आर्थिक वर्ष ०७६/०७७ मा नेपाल सरकारले प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले स्थानीय तहको खातामा बजेट दिने निर्णय अनुसार बजेट निकासा भएको छ ।

बजेट आए पनि नयाँ शैक्षिक सत्र २०७६ वैशाखदेखि विद्यालयमा दिवा खाजा नपाक्दा विद्यार्थीको टिफिन रित्तै भएको हो ।

स्थानीय तहमा बजेट आए पनि विद्यार्थीलाई नगद पैसा दिने कि ! विद्यालयको खातामा निकासा दिएर खाजा खुवाउने भन्ने विषयको टुङ्गो नलागेको दशरथ चन्द नगरपालिकाका शिक्षा फाँट संयोजक मोहन नाथले बताए ।

शिक्षा फाँट संयोजक नाथले भने–‘दिवा खाजाको कार्यविधि फेरिएर प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले नगद बजेट आएको छ । यो बजेट विद्यालयको खातामा निकासा दिएर खाजा खुवाउने कि नगदै दिने भन्ने कुराको केही टुङ्गो लागेको छैन ।’

विश्व खाद्य कार्यक्रमको प्राविधिक तथा बाह्य सहयोग रहने गरी शिक्षा विभागले दिवा खाजाको बजेट स्थानीय तहको खातामा निकासा दिएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब दयालले बताए ।

बजेट आए पनि के कस्तो खाजा खुवाउने ? भन्ने विषयमा प्रशिक्षण नपाउँदा विद्यालयमा खाजा पाक्न नसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउदले बताए ।

अध्यक्ष साउदले भने–‘तिहारपछि विश्व खाद्य कार्यक्रमले स्थानीय तहको सरकारलाई दिवा खाजाबारे प्रशिक्षण दिने भन्ने कुरा सुनिएको छ । प्रशिक्षणपछि मात्र विद्यालयमा दिवा खाजा पाक्छ ।’

विद्यार्थीलाई दिवा खाजा खुवाउने विषयमा विश्व खाद्य र शिक्षा विभागले प्रशिक्षण दिएपछि मात्र कार्यक्रम सुरू हुने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

बैतडीमा कुल ५ सय ३८ विद्यालय रहेका छन् । ती मध्ये ३ सय १७ ओटा प्राथमिक विद्यालय रहेका छन् । प्राथमिक विद्यालयमा झण्डै ३५ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाई बैतडीको तथ्याङ्क छ ।

स्थानीय तहमा प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले खाजा खुवाउन बजेट दिए पनि शैक्षिक सत्र आधा भइसक्दा पनि खाजा नपाक्नु बिडम्बना भएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।

उनले भने–‘स्थानीय तहले दिवा खाजाको नयाँ कार्यविधि राम्ररी बुझ्न नसकेकोले पनि समस्या आएको छ । बैतडी र डडेल्धुरामा विश्व खाद्य कार्यक्रमले अब प्रत्यक्ष लगानी गर्दैन । दिवा खाजाका लागि बैतडीमा नेपाल सरकार आफैँले बजेटको व्यवस्था गरेको छ । विश्व खाद्य कार्यक्रमले प्राविधिक सहयोग मात्र गर्ने हो ।’

गत वर्षसम्म समयमै दिवा खाजा पाइने गरेकोमा अहिले नेपाल सरकार आफैँले बजेटको व्यवस्था गरेर स्थानीय तहमा बजेट दिए पनि शैक्षिक सत्र आधा हुँदा पनि विद्यार्थीले खाजा नपाएको शिक्षक भवानी भट्टले गुनासो गरे ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुरचौडी नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, डिलासैनी गाउँपालिका गरि बैतडीमा १० स्थानीय तह रहेका छन् ।


नरी बडु