१० दिनमा नै राष्ट्रिय सभाको अधिवेशन अन्त्य

  ०७७ पुस २७ गते

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस २६ गते मध्यरातबाट  अन्त्य भएको छ ।

पुस २६ गतेको मन्त्रिपरिषद् बैठकबाट गरिएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्नु भएको हो ।

पुस १७ गतेबाट सुरु भएको सो अधिवेशन १० दिन मात्र चलेर अन्त्य गरिएको हो । यसबिचमा सदनको चार ओटा बैठक बसेका थिए भने सो क्रममा ७ घण्टा ५ मिनेट सभामा व्यतित भएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको यो अधिवेशनमा सरकारले सातओटा अध्यादेश पेस गरेको थियो । संसद् सचिवालयका अनुसार सातौं अधिवेशन अवधिमा सभाबाट कुनै पनि विधेयकमा छलफल नभई अधिवेशन अन्त्य भएको हो ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ राष्ट्रिय सभामा पेस गरिएको थियो । यसैगरी सरकारले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ सभामा पेस गरिएको थियो ।


अनलाइन डेस्क