हेलिकेप्टरद्वारा सुत्केरीको उद्दार

  ०७६ कात्तिक १३ गते

सुत्केरी महिलालाई डोको र काठमा बाँधेर बोक्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया धाना साउदलाई कात्तिक १२ गते नेपाली सेनाको हेलिकेप्टरमार्फत उद्दार गरिएको छ ।

उनलाई कोहलपुर मेडिकल कलेज लगिएको छ । कात्तिक १२ गते बिहान ९ बजेर ५० मिनेटमा प्रसूति सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव भएपछि हेलिकेप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

सुत्केरी भएपछि रगत बग्न नरोकिएपछि राष्ट्रपति उद्दार कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको उपचारका लागि हेलिकप्टर बोलाइएको पौडेलले बताए ।

सुत्केरी साउदलाई कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको सुत्केरीको साथमै रेहेकी प्रसूती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहरा साउदले बताइन् ।

धाना सुत्केरी व्यथा लागेपछि कात्तिक १२ गते बिहान ६:४५ बजे प्रसूती सेवा केन्द्र लेकममा पुगेकी थिइन् ।

गएको भदौमा सिगास गाउँपालिका–७ बोरीगाउँकी पार्वती बोहरालाई सुत्केरी व्यथाले च्यापेपछि स्ट्रेचर नहुँदा आफन्तले सालको काठमा कपडा बेरेर बोक्दै बझाङ जिल्ला अस्पताल पुर्‍याएका थिए ।

काठमा कपडा बेरेर झरीमा भिज्दै सुत्केरी बोक्नु पर्दा निकै दुःख भएको सुत्केरीका आफन्त कपिल बोहराले बताए । तर, कात्तिक १२ गते सोही गाउँपालिकाकी धनाको उद्दार हेलिकेप्टरबाट गरिएपछि खुसी लागेको उनको भनाई छ ।

यस अघि इन्सेक अनलाइनलगायत अन्य सञ्चारमाध्यमहरूमा सिगास गाउँपालिकामा सुत्केरीहरूले भोग्नुपरेको पीडासम्बन्धी समाचार प्रकाशन भएका थिए ।

गएको असोजमा मात्रै रक्तश्राव नरोकिँदा सिगास गाउँपालिकामा २१ वर्षीया सुत्केरी महिला गोमती चाँडको ज्यान गएको थियो ।

१२ घण्टासम्म लगातार रगत बग्दा समेत उपचारका लागि अन्यत्र नलगिँदा चाँडको मृत्यु भएको थियो । उनको परिवार र स्थानीयलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको बारेमा जानकारी नै थिएन ।


नरी बडु