हुरीले छानो उडाएपछि बालबालिका खुलाचौरमा बस्न बाध्य

  ०७६ वैशाख ३० गते

हावाहुरीले विद्यालयको छानो उडाएपछि ठुलीभेरी नगरपालिका जुफालस्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू खुलाचौरमा बसेर पढ्न बाध्य भएका छन् ।

११ कोठे सो विद्यालय भवनको जस्तापाता हावाहुरीले उडाएपछि बालबालिका खुलाचौरमा बसेर पढ्न बाध्य भएका हुन् ।

वैशाखको टण्टलापुर घाममा बसेर पढ्नु पर्दा समस्या हुने गरेको कक्षा १० मा अध्ययनरत मदन कठायतले गुनासो गरे ।

विद्यालयको छानो मर्मत नहुञ्जेल सम्मकोे लागि बालबालिकाहरूलाई खुलाचौरमा राखेर पढाउनु परेको शिक्षक पुष्पराज पौडेलले बताउँछन् ।

वैशाख १७ गते आएको हावाहुरीले ११ कोठे भवनको जस्तापाताको छानो उडाउनुका साथै केही कक्षाकोठा समेत भत्काएको थियो ।

भत्काएको भवन पुननिर्माण गर्न समय लाग्ने र मर्मत खर्चबापत लाग्ने अनुमानित ३० लाख रुपियाँ बराबरको बजेट माग गरी ठुलीभेरी नगरपालिकालाई पत्राचार गरिएको प्रधानाध्यापक पुर्णबहादुर डाँगीले बताए ।

कक्षाकोठामा छानो नहुँदा विद्यालयको कार्यालय भवनको बरण्डा र खुलाचौरमा राखेर बालबालिकालाई पढाउनु परेको डाँगीको भनाई छ ।

पुनःनिर्माणका लागि आग्रह गर्दै ठुलीभेरी नगरपालिकास्थित शिक्षा विकास समन्वय एकाई कार्यालय लगायतका निकायमा प्रस्तावना सहितको बजेट माग गरिएको भएपनि हालसम्म आश्वासन मात्रै आएको प्रधानाध्यापक डाँगीले बताए ।

झण्डै ३ सयको हाराहारीमा विद्यार्थी भएको सो विद्यालयमा सबै कक्षाका विद्यार्थीलाई खुलाचौर र कार्यालय कोठाको बरण्डामा राखेर पढाउँदा पढाई समेत प्रभावकारी हुननसकेको शिक्षकहरू बताउँछन् ।

खुलाचौरमा राखेर पढाउँदा विद्यार्थी पढाई केन्द्रित नहुने र एक कक्षामा पढाएको अर्को कक्षामा सुनिने समस्या आउने विद्यार्थीहरू गुनासो गर्छन् ।

ठुलीभेरी नगरपालिका कार्यालयको अगाडि रहेको सो विद्यालयमाथि परेको समस्यालाई मध्यनजर गरेर यथाशिघ्र बजेट उपलब्ध गराएर पुनर्निर्माण गर्नुपर्ने र सोको लागि पहल गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल शाहीले बताए ।

बर्खा लाग्ने समय हुँदा तुरून्तै पुनःनिर्माण नगरिएपछि विद्यालय नै बन्द गर्नुपर्ने समस्या आउन सक्ने सो विद्यालयका व्यवस्थापन समितिका पुर्व अध्यक्ष चन्द्रविक्रम शाहीले बताए ।

Photo20190507Dolpa01(1)


विष्णुप्रसाद देवकोटा