हुम्लामा हिमपात सुरू, १० मतदान केन्द्र उच्च जोखिममा

  ०७४ मङ्सिर ३ गते

हिमाली जिल्ला हुम्लामा मङ्सिर १ गते बिहानदेखि हिमपात सुरू भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने बताइएको छ । हिमपातका कारण जाडो अत्याधिक बढेको छ ।

जिल्ला सदरमुकाम सिमिकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्कालगायतका क्षेत्रमा लगातार हिमपात भइरहेको छ ।

लगातार हिमपात भएपछि हुम्लामा पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन प्रभावित हुने निश्चित देखिन्छ ।

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो । नाम्खा गाउँपालिका अन्तर्गत पर्ने १० ओटा मतदान केन्द्र हिमपातको उच्च जोखिममा रहेका छन् ।

सो मतदान केन्द्रसम्म पुग्नको लागि खटिएका कर्मचारी, म्यादी प्रहरी तथा जनपथ प्रहरीलाई यतिखेर समस्या भएको शान्ति सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताएका छन् ।

उच्च जोखिममा रहेका मतदान केन्द्रका लागि करिब ६ दिन लाग्ने भएकाले हेलिकप्टरको माग गरे पनि अहिलेसम्म आफ्नो माग पूरा नभएको मुख्य निर्वाचन अधिकृत मोदेनी शर्मा पौडेलले बताए ।


नन्द सिंह