हुम्लामा मौसमी रुघाखोकीले गाउँ नै प्रभावित, एकको मृत्यु

  ०७६ पुस १७ गते

गाउँमा मौसमी रुघाखोकी बढेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँमा एक महिलाको मृत्यु हुनुका साथै गाउँ नै प्रभावित भएको छ ।
रुघाखोकी बढेपनि परिवारजनले उपचारमा ध्यान नदिँदा खार्पुनाथ गाउँपालिका–३ की ३६ वर्षीया चन्दा बुढाको मृत्यु भएको आफन्त पूर्णबहादुर रोकायाले जानकारी दिनुभयो ।
रुघाखोकीको संक्रमण बढेपछि स्थानीय राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले जानकारी दिनुभयो ।
राया स्वास्थ्यचौकीमा यतिबेला ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता समस्या लिएर बिरामी आउने गरेको भएपनि स्वास्थ्य चौकीमा मौज्दात रहेको औषधि सकिन लागेका कारण समस्या हुने देखिएको रावलको भनाई छ ।
खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीसंग सो बारेमा बुझ्दा शाहीले जिल्ला अस्पतालका साथै स्वास्थचौकीमा एन्टिवाईटिक औषधि पर्याप्त मात्रामा मौज्दात नहुँदा समस्या भएको बताउनुभयो । गाउँपालिकामा मौज्दात औषधि नभएपछि खरिदका लागि टेण्डरका लागि प्रक्रिया अगाडी बढाई सकेको संयोजक शाहीले बताउनुभयो ।
जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले स्वास्थ्यचौकीहरूमा औषधि अभाव भए गाउँपालिका नै जिम्मेवार हुने प्रतिक्रिया दिनुभयो ।


नन्द सिंह