हुम्लामा पाठ्यपुस्तक अभाव, पठनपाठन प्रभावित

  ०७६ फागुन २२ गते

हिमाली जिल्ला हुम्लाका विद्यालयहरूमा माग अनुसार पाठयपुस्तक नआउँदा विद्यार्थी मर्कामा परेका छन् । पाठयपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्र र पुस्तक ढुवानीकर्ता तथा बिक्रेताहरूले अघिल्लो वर्षको प्रतिवेदनको आधारमा पुस्तक पठाउँदा अपुग भएको हो ।

उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका अधिकांश विद्यालयका पाठयपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको रोकाया पुस्तक पसलकी धनजवा रोकायाले कक्षा २ देखि १० कक्षासम्मका लागि ३ हजार ८ सय ५० सेट पुस्तक माग गरेकोमा जम्मा २ हजार ७ सय सेट पुस्तक मात्र आएको बताउनु भयो ।

तीन वटा गाउँपालिकाका विद्यालयका लागि १ हजार १ सय ५० सेट पुस्तक अपुग भएको छ । जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक ढुवानीकर्ता तथा बिक्रेताले माग गरेको आधारमा नभई पुरानै प्रतिवेदनका आधारमा पुस्तक उपलब्ध गराउने गरेको छ । सम्बन्धित गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस तथा प्रदेश मन्त्रालयको समन्वयमा मात्र अपुग पुस्तक उपलब्ध हुने रोकायाको भनाई छ । उनका अनुसार जिम्मा पाएका पाठयपुस्तक नेपालगञ्जबाट हवाईमार्गबाट सिमकोट पुगेर हाल बिक्री भइरहेको छ ।

यस्तै, चंखेली गाउँपालिका र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको ज्ञानु भण्डारकी सञ्चालक दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ ओटाा विद्यालयका लागि ४ हजार २ सय सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाई केन्द्रबाट २ हजार ७ सय २५ सेट मात्र पाएको बताउनु भयो ।

जिल्लाको दक्षिणी क्षेत्रका अदानचुली र ताजाकोट गाउँपालिकाका विद्यालयहरूको पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लगेका लोकेन्द्र भण्डारीका अनुसार गत वर्षभन्दा यो वर्ष कम पुस्तक बुझेको बताउनु हुन्छ । उहाँले पनि माग अनुसार पाठ्यपुस्तक नपाएको गुनासो गर्नु भएको छ ।

हुम्लामा तीनवटा पुस्तक बिक्रेताहरूले निजी क्षेत्रले छपाइको जिम्मा पाएको कक्षा एकको पुस्तक नछापिएकाले जिल्लामा पठाउन नसकिएको बताउने गरेका छन् । कर्णालीका उच्च हिमाली क्षेत्रमा फागुन ४ गतेबाट शैक्षिक सत्र सुरु हुने गरेको छ । चंखेली र सर्केगार्ड गाउँपालिकाले पाठ्यपुस्तक खरिदमा आवश्यक भन्दा कम बजेट विनियोजन गरेको पाइएको छ ।

 


नन्द सिंह