हुम्लाका ७ सय बालबालिका भिटामिन खानबाट वञ्चित

  ०७५ वैशाख १२ गते

हुम्लाका दुई वटा गाउँपालिकाका ७ सय बालबालिका एक वर्षदेखि भिटामिन खानबाट वञ्चित भएका छन् । जिल्लाका सात वटै गाउँपालिकामा रहेका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भनिएता पनि ताँजाकोट र नाम्खा गाउँपालिकामा भिटामिनसमेत नखुवाएको स्थानीयले गुनासो गरेका छन् ।

जिल्ला जनस्वाथ्य कार्यालय अन्तर्गत सातै वटा गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा ६ महिनादेखि ५ वर्षमुनिका ५ हजार बालबालिकालाई भिटामिन 'ए' र एक वर्षदेखि पाँच वर्षमुनिका १ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको प्रावधान रहेका भए पनि नाम्खा गाउँपालिकाका ३ सय र ताँजाकोटका ४ सय बालबालिकालाई भिटामिन नखुवाएको स्थानीयबासी सेमजोर लामाले गुनासो गरे ।

ताँजाकोट गाउँपालिका-३ मैलाकी सरिता शाहीले राज्यले निशुल्क रूपमा दिएको बालबालिकाको भिटामिनसमेत नपाएका आरोप लगाइन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नियम अनुसार ६ महिनामा भिटामिन 'ए' र जुकाको औषधि खुवाउने गरेको भए पनि हुम्लाको लिमी मुचलगायतका गाउँमा रहेका स्वाथ्य चौकीबाट सेवा प्रवाह हुनुपर्ने बालबालिकाहरूलाई त्यहाँ स्वाथ्यकर्मी नपुगेकोले अहिलेसम्म पनि सो औषधि नपुगेको स्थानीयको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डक्टर रञ्जितकुमार यादवले जिल्लाका ७ वटै गाउँपालिकाका ४४ वडामा रहेको महिला स्वास्थ्यस्वयम्सेविका परिचालन गरेको बताए । हिमाली जिल्लामा हरेक वर्ष वैशाख ६ र ७ गते जिल्लाभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि दुर्गम गाउँबस्तिमा भने अलि ढिलो गरि खुवाउने गरेको बताए ।

डक्टर यादवका अनुसार हरेक बालबालिकालाई कुपोषण छ कि छैन ? भनेर जाँच गरी कुपोषण भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई अनुरोध गरिएको बताए.।


नन्द सिंह