हुम्लाका ३१ सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

  ०७४ कात्तिक ७ गते

जिल्लामा स्थापित ३९ मध्ये ३१ सरकारी कार्यालय प्रमुखविहीन रहेका छन । दसैँ विदा भन्दा अगाडि नै जिल्ला छाडेका ती कार्यालय प्रमुखहरू हालसम्म जिल्लामा फिर्ता नहुँदा कार्यालयहरू प्रमुखविहीन भएका छन् । जसका कारण सेवाग्राही मर्कामा परेका छन ।

दसैँ विदा सकिएको तीन हप्ता भै सक्दा पनि प्रमुखविहीन रहेका जिल्लाका सरकारी कार्यालयहरूमा जिल्ला जनस्वास्थ्य, जिल्ला आयुर्वेद, सरकारी वकिल, जिल्ला हुलाक, कारागार, जिल्ला समन्वय समिति, हिल्दुम साना जलविद्युत आयोजना, नेपाल टेलिकम, महिला तथा बालबालिकाको कार्यालय, सिमकोट हिल्सा सडक आयोजना, कृषि विकास बैङ्क, जिल्ला कृषि विकास, जिल्ला पशुसेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, कोलेनिका, जिल्ला निर्वाचन, जल उत्पन्न प्रकोप सव डिभिजन, सिञ्चाई सव डिभिजन रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले बताए ।

त्यसैगरी जिल्लाका सात ओटै गाँउपालिकाका कार्यकारीहरू पनि जिल्ला बाहिरै रहेको प्रमुख जिल्ला अधिकारीको भनाई रहेको छ । लामो समयसम्म कार्यालयहरू प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा पर्ने भएको हुँदा आफूले केही समय अगाडि हाजिरी छड्के गरेको र त्यसमाथि छानबिन भइरहेको प्रजिअ वास्कोटाले बताए ।

छानबिनका आधारमा कार्यालय प्रमुख र कर्मचारीमाथि आवश्यक कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने पनि उनले बताए । हाल जिल्लाका जिल्ला प्रशासन, नयाँ भैरवी गुल्म रानीवन, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान जिल्ला वन, खाद्य संस्थान, नापी र राष्ट्रिय वाणिज्य वैंकमा मात्र कार्यालय प्रमुखको उपस्थिति रहेको छ ।


नन्द सिंह