हुम्लाका मतपेटिका हेलिकप्टरबाट सदरमुका ल्याइएपनि मतदान अधिकृतहरू अलपत्र

  ०७४ मङ्सिर ११ गते

हुम्ला जिल्लाका भौगोलिक रूपमा अति विकट क्षेत्रमा रहेका मतपेटिकाहरू हेलिकप्टरबाट सदरमुकाम ल्याइएपनि मतदान अधिकृतहरू भने अलपत्रमा परेका छन् ।

मतपेटिका ओसार्ने हेलिकप्टरबाट सदरमुकाम सिमकोट जान नपाएको भन्दै अदानचुली र ताँजकोट गाउँपालिकाका मतदान केन्द्रका मतदान अधिकृतहरू आन्दोलित भएका छन् ।

मङ्सिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा जिल्ला सदरमुकाम सिमकोटदेखि दक्षिणपूर्वमा ४४ देखि ५२ कोष टाढाका अदानचुली र ताँजकोट गाउँपालिकाका ११ ओटा मतदान केन्द्रका मतदान अधिकृतमध्ये हेलिकप्टरमा जान नपाएका अधिकृत आन्दोलित भएका हुन् ।

११ जना मतदान अधिकृतमध्ये केहीलाई हेलिकप्टरमा लगेर आफूहरूलाई अलपत्र छोडेको अदानुचली गाउँपालिका-१ स्थित जनकल्याण आधारभुत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत कुमानसिंह धामीले गुनासो गरेका छन् ।

एकै काममा खटिएका अधिकृतमध्ये कसैलाई हेलिकप्टरमा लैजाने र कसैलाई अलपत्र पार्ने कुराले आफूलाई अन्याय भएको अदानचुली गाउँपालिका-३ स्थित छत्रपाल आधारभुत मतदान केन्द्रका मदतान अधिकृत विष्णुबहादुर शाहीले बताए ।

मूख्य निर्वाचन अधिकृतको कार्यालय र नेपाली सेनाको सहमतिमा मतपेटिका आसार्ने काम भएपनि मतदान अधिकृत आए नआएको बारेमा आफूलाई जानकारी नभएको जिल्ला निर्वाचन अधिकृत मेदेनीप्रसाद शर्मा पौडेलले प्रतिक्रिया दिए ।

नेपाली सेनाको हेलिकप्टरबाट नाम्खा गाउँपालिकाका सात, ताँजाकोट गाउँपालिकाका पाँच, अदानचुली गाउँपालिकाका ६, सर्केघार्ड गाउँपालिकाका ११, चङ्खेली गाउँपालिकाका सात मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम सिमकोट ओसारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा मतदान अधिकृत मात्र नभएर म्यादी प्रहरी तथा निर्वाचनमा खटिएका कर्मचारीसमेत समस्यामा परेका छन् ।


नन्द सिंह