हुम्लाका द्वन्द्व पीडितले राहत पाएनन्
सशस्त्र द्वन्द्व पीडितका लागि जिल्लामा आएको राहत रकम हुम्लाका द्वन्द्व पीडितहरूले नपाएको गुनासो गरेका छन् ।
सशस्त्र द्वन्द्वको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्ति स्वरूप राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने गरेको भएपनि सदरमुकाम सिमकोटबाट टाढा रहेका पीडितले उक्त रकम नपाएका हुन् ।
सदरमुकामदेखि ५८ कोष टाढा रहेको ताँजाकोट गाउँपालिका, ५२ कोष टाढा रहेको अदानचुली गाउँपालिका र ४० कोष टाढा रहेको चङ्खेली गाउँपालिकाका १५ घरपरिवारका ३५ जनाले प्रति व्यक्ति २५ हजार रुपियाँका दरले पाउनु पर्ने सो रकम नपाएपछि मर्कामा परेका हुन् ।
असार अन्तिमसम्म पनि विस्थापितहरूलाई राहत लिनका लागि जानकारी नगराएपछि द्वन्द्व पीडितहरू यो वर्षको पाउने रकमबाट वञ्चित भएको अदानचुली गाउँपालिका–२ की माया फडेराले गुनासो गरिन् । उनका अनुसार आफूलाई जिल्ला प्रशासन कार्यालयले समयमै जानकारी नगराएपछि आफ्नै घरका तीन जनाको ७५ हजार रुपियाँ गुमाउनु परेको हो ।
‘समयमै खबर गरेको भए यो राहतबाट वञ्चित हुने थिएनौँ ।’–चङ्खेली गाउँपालिका–५ का हरिकृष्ण चौलागाईले भने ।
हुम्ला जिल्ला सडक सञ्जालले नछोएकाले पनि विभिन्न सरकारी सेवाबाट वञ्चित हुनु परेको ताँजाकोट गाउँपालिका–४ का रूद्रविर मल्लको गुनासो छ ।
कार्यदलको सूचीमा परेका द्वन्द्व पीडितको विवरण अनुसार सदरमुकाम भन्दा नजिक रहेका विस्थापितको सङ्ख्या ५३ घरधुरीका १ सय ३२ जना सदस्यहरूले राहत पाएपनि हुम्लाका केही द्वन्द्व पीडितहरू छुटेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए ।
गत आर्थिक वर्ष असार अन्तिममा रकम प्राप्त हुँदा प्रभावित सबैलाई वितरण गर्न अपुग भएपछि बाँकी पीडितलाई यस पटक पुःन वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गतको ‘द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत सङ्कलन कार्यदल–२०७४ ले सिफारिस गरे अनुसार ३० दिन भन्दा बढी समय अपहरणमा परेका र द्वन्द्वको क्रममा पीडित भएर विस्थापित हुन बाध्य भएका व्यक्तिका लागि एक जनाको २५ हजार रुपियाँका दरले राहत वितरण गर्ने कानुनी व्यवस्था रहेको प्रजिअ ढुङ्गानाको भनाई छ ।
प्रजिअ ढुङ्गानाले भने छुटेका द्वन्द्व पीडितहरूको रकम जिल्ला प्रशासन कार्यालयले नराखेर नेपाल सरकारकै कोषमा जम्मा हुने जानकारी दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…